समाचार

युनाइटेड मुगुम अर्गनाइजेशनको पहिलो ल्होछार

न्यूयोर्क/अमेरिका
युनाइटेड मुगुम अर्गानाइजेशनको आयोजनामा पहिलो पटक औपचारिकरुपमा सोनाम ल्होछार मनाईएको छ । विभिन्न संघसंस्थाका प्रतिनिधि तथा समुदायका व्यक्तिहरुसंग गत शनिवार मुगुम( मुगाल) जातिको महान पर्व तथा नयाँ वर्ष सोनाम ल्होछार २१४७, (२०२०) जीवा लो (मुसा वर्ग) को अवसरमा शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम गर्दै मनाएको हो ।
पेमा नामग्यालको अध्यक्षतामा र नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष लोक चेमजोङको प्रमुख आतिथ्यमा अन्य विशिष्ट व्यक्तिहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि फिप्नाका अध्यक्ष चेम्जोङले मुगुम अर्गनाइजेशनले पहिलोपटक सबै समुदायलाई समेटेर ल्होछार मनाएकोमा संस्थाको प्रसंसा गरे । उनले नेपालमा १२५ भन्दा बढी जातजाति रहेको र त्यसभित्र मुगाली समुदाय विशेष पहिचान बनाउदै अगाडि बढेको बताए । ‘हाम्रो देश यस्तो देश हो, जहाँ हाम्रो पुर्खा वा आमाहरुले बनाएको जडिबुटीनै कडा औषधिको रुपमा काम गर्छ,’ अध्यक्ष चेम्जोङले भने ‘नेपालीको पहिचान दौरा सुरुवाल मात्र नभएर विभिन्न जातजातिको संस्कार र संस्कृति पनि हो ।’ नेपालमा पहिचानको सहितको संघीयता स्थापित हुनुपर्ने उनले बताए । यसका लागि समग्र आदिवासी जनजातिहरु एक भएर आवाज उठाउनुपर्ने समेत बताए । चेम्जोङले उक्त कार्यक्रम मार्फत सम्पूर्णलाई अमेरिकाको जनगणना २०२० मा रजिस्टर हुन समेत अनुरोध गरे ।

संस्थाका सचिव गेलेक नामग्यालले मुगालीहरुको भेष भुषा एउटा विशेष भए पनि सहज रुपमा नपाइने बताए । उनले मुगालीहरुले आफ्नो भेषभुषाका बारेमा सोच्नुपर्ने समय आएको र आफ्नो परम्परालाई बचाइ राख्नका लागि सबै एकभएर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा मुगुम(मुगाल) का लामागुरु र फिप्नाका अध्यक्ष चेमजोङद्धारा भगवान गौतम बुद्धको मूर्तिमा खादा चढाइएको थियो । नेपाली अमेरिकन कलाकार संघका अध्यक्ष सुमन बुढा मगरले मुगाली समाज आफ्नो पारिवारिक समाज रहेको बताउँदै मुगाली समाजको संस्कृति र भेषभुषाका बारेमा प्रसंसा गरेका थिए । उनले यो संसारमा खोजेर नपाइने भन्दै आफ्नो भेषभुषामा सजिएर आएकोमा खुसी व्यक्त गरेका थिए । ढोकप्या किदुगका अध्यक्ष गोवा लामाले मुगाली समाज र आफ्नो समाजको संस्कार धेरै कुरामा मिल्दोजुल्दो रहेको बताउँदै सुरुका दिनमा आफ्नो समाजले पनि यसरी नै सुरुवात गरेको बताए । उनले भविष्यमा सबै संघसंस्थासँग भाइचाराको सम्बन्ध कायम गर्दै आफ्नो चाडपर्वलाई यसरी नै मिलेर मनाउने प्रतिबद्धता जनाए ।

सञ्चारकर्मी निमा पाख्रिनले नेपालमा मुगाली समाज धेरै चर्चित समाज रहेको बताउँदै आफू नेपालको धेरै ठाउँमा भ्रमण गरेता पनि मुगुममा नपुगेको तर न्युर्योकमा आएर भेट्ने अवसर जुरेको भन्दै खुसी व्यक्त गरेका थिए । उनले आफ्नो मौलिक परम्परालाई जोगाउँदै आफ्नो हकअधिकार र पहिचानको लागि हामी सधै एक भएर अघि बढ्नुपर्ने बताए ।

दोश्रो चरणको कार्यक्रममा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपालका गीता राईले नृत्य प्रस्तुत गरेकी थिइन् भने कलाकारहरु छिरिङ तेन्पा, ज्याम्पा तेन्जिन, गेलेक नामग्याल, भिटिक, छिरिङ भिटिक, गालदेन, कुञ्जोम र तेन्जिन साङमोले (मुगाल) परम्परागत लोक संस्कृतिनृत्य प्रस्तुत् गरेका थिए । मुगुम युवा कलाकार कुङगा डीमे र टाशी दुन्डुपले नेपाली र तिब्बत्तीयन गीत प्रस्तुत गरेका थिए । चर्चित लोक गायक सुमन बुढामगर र सुवर्ण शाक्यले आ–आफ्नो कला प्रस्तुत गरेका थिए । मुगुम समाजका अन्य कलाकारले मौलिक संस्कृति झल्किने गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।


फिप्नाका सचिब टोमा लामाले निर्देशन र अभिनय गरेको मुगाल जातिको प्रथम चलचित्र ‘सोल्जी’ र दोस्रो चलचित्र ‘फेक’ का केही झलक प्रस्तुत गरेकी थिइन् । उनले यी दुईवटै चलचित्र नेपाल सरकार, चलचित्र विकास बोर्डको अवार्डबाट सम्मानित भएको र अन्य विभिन्न अवार्डहरुबाट सम्मानित भएको जानकारी गराएकी थिइन् ।