विज्ञान प्रविधि

विमानस्थलमा लागेको आगोबारे छानविन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार लागेको आगलागीबारे छानबिन गर्न समिति गठन भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।

सोमबार बसेको सचिवस्तरको बैठकले मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जनाएको छ ।

मन्त्रालयका उपसचिव राजन नेपाल, प्रहरी प्रधान कार्यालयका एसपी केदार ढकाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक कूलप्रसाद सिंखडा र उपनिर्देशक विक्रम गौतम सदस्य तोकिएका छन् ।

समितिले घटनाको सत्य तथ्य पत्ता लगाइ ७ दिनभित्र सुझावसहितको प्रतिवेदन बनाउने जिम्मेवारी पाएको छ ।

सोमबार राति सवा ८ बजे विमानस्थलको प्रस्थान कक्षमा रहेको कफी पसलमा आगलागी भएको थियो ।

सोही कारण काठमाडौंको उडान र अवतरण अवरुद्ध भएको थियो । विमानस्थलमा आगो लाग्नुलाई संवेदनशिल मानिन्छ ।