समाचार

प्रथम शहीद लखन थापाको सम्झना

न्यूयोर्क/अमेरिका
अमेरिकाको न्यूयोर्कमा नेपालको पहिलो शहीद ‘लखन थापामगर’ को १४३ औं स्मृती दिवस मनाइएको छ । नेपाल आदिवासी जनाजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा आइतबार प्रजातन्त्रका सेनानी लखन थापाको योगदान र त्यागलाई सम्झँदै उनको तस्बीरमा पुष्प गुच्छा अर्पण गरिएको थियो ।
कार्यक्रममा नेपाली महाबाणिज्य दूतावासका बाणिज्यदूत गणेश अधिकारीले राष्ट्रका बिभुतिलाई सम्झदा बिदेशमा भएका नेपालीले एकजुट भएर कार्यक्रम गर्नुपर्ने बताए ।


बिदेशमा बस्ने नेपालीले राष्ट्रनिर्माणमा योगदान गरेका, त्याग गरेका ब्यक्तिहरुलाई सम्झँदा नेपालीको छोरो भनेर नै सम्झनु पर्छ । ‘कुनै जातजाती, वर्ग, क्षेत्र भन्दा पनि माथी उठेर नेपालीको छोरो भन्दा गर्व महसुस गर्नुपर्छ जस्तो मलाई लाग्छ’ बाणिज्यदूत अधिकारीले भने, ‘यस्ता बिभिन्न दिवसहरु मनाउँदा कन्सुलेटमा छलफल गरौं र कार्यक्रमलाई एकजुट भएर मनाउँ भन्न चाहान्छु ।’
नेपाल लगायत बिश्वभर छरिएर रहेका नेपालीले हरेक वर्ष फागुन २ गते लगन थापा स्मृति दिवस मनाउँदै आएका छन् । प्रथम शहीद थापाको जन्म सन् १८३५ मा नेपालको गोर्खा जिल्लाको बुङ्कोटमा भएको थियो । प्रथम शहीद थापालाई जहाँनिया राणा शासनको बिरोध गर्दा श्री ३ जंगबहादुर राणाको ठाडो आदेशमा १४४ बर्ष अघि बि सं १९३३ (सन् १८७६) फागुनको पहिलो हप्ता उनकै गाउँ गोर्खा जिल्लाको बुङ्कोटमा झुन्ड्याई मारिएको थियो ।
नेपाल सरकारले तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको पालामा बि.सं २०७२ असोज ३ गते बसेको मन्त्रिपरिषदको बैठकले लखन थापा मगरलाई नेपालको प्रथम शहीदको मान्यता प्रदान गरेको थियो ।


उनले सहादत प्राप्त गरेको १२५ वर्ष पछि मात्रै बि.सं २०५६ सालमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालामा शहीद घोषणा गरिएको थियो । त्यतिबेला पहिलो शहीद भनेर घोषणा गरिएन । त्यसपछि मगर संघ, आदिवासी जनजातीहरुले आन्दोलन गरेर दबाब सिर्जना गरेर गणतन्त्र आएपछि मात्रै उनलाई प्रथम शहीद घोषणा गरिएको थियो ।