विश्व

नेपाललाई कोरोना मुक्त क्षेत्रका रुपमा प्रचार गरिने

काठमाडौं । सरकारले नेपाललाई ‘कोरोना भाइरसमुक्त क्षेत्र’का रुपमा प्रचार गर्ने निर्णय गरेको छ ।

अंग्रेजी, चिनियाँ र हिन्दी भाषामा श्रब्य दृष्य सामग्री तयार पारी नेपाललाई कोरोना भाइरस मुक्त क्षेत्रका रुपमा सम्प्रेषित गर्ने निर्णय भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार सरोकारवालासँग छलफल गरेको थियो ।

छलफलका क्रममा कोरोना भाइरस र यसका कारण नेपालको पर्यटन उद्योगमा पारेको प्रभाव न्यूनिकरणबारे निर्णय भएको मन्त्रालयले जनाएके छ ।

मन्त्रालयका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले तीन दिनभित्र नेपाल ‘कोरोना भाइरस फ्रि जोन’ हो भन्ने सन्देश बोकेको श्रब्यदृष्य सामग्री अन्तर्राष्ट्रिय जगतमा सम्प्रेषणको व्यवस्था मिलाउन निर्देशन दिए ।

यस्ता सामग्रीलाई मन्त्रालय, विदेशस्थित नेपाली नियोग, नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष २०२० को सचिवालय, पर्यटनसम्बद्ध निजी क्षेत्रका वेवसाइट र सामाजिक सञ्जालमासमेत राखिने भएको छ ।

छिमेकी मित्रराष्ट्र चीनले सामना गरिरहेको वर्तमान संकटप्रति नेपालको पूर्ण साथ सहयोग तथा ऐक्यवद्धता व्यक्त गर्दै यस संकटबाट चीन शीघ्र पार हुने र त्यसपछि चिनियाँ पर्यटकलाई स्वागत गर्न नेपाल तयार छ भन्ने श्रब्यदृष्य सामग्री समेत सम्प्रेषित गरिने मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यस्ता सामग्री चिनियाँ भाषामै नयार पारी ७ दिनभित्र चिनियाँ सञ्चारमाध्यम तथा चीनस्थित नेपाली नियोगमार्फत सम्प्रेषणको व्यवस्था मिलाउन मन्त्री भट्टराईले निर्देशन दिए ।

वर्तमान संकटपछि नेपालको पर्यटन प्रवर्द्धनका लागि वैकल्पिक बजारको खोजी गर्नुपर्ने निश्कर्षमा समेत सरकार पुगेको छ ।

सोही प्रयोजनका लागि नेपालको पर्यटन स्रोत बजारलाई लक्षित गरी क्षेत्रगत रुपमा १२ वटा प्रवर्द्धनात्मक ‘डेस्क’ खडा गर्ने निर्णय समेत गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नेपाल आउने वायुसेवालाई सहुलियत दिन भनिएको छ । नेपाल वायुसेवा निगमलाई समेत थप गन्तब्यमा उडान बिस्तार गर्न आग्रह गरिएको छ ।