समाचार

पूर्वराजा असन्तुष्ट, भन्छन् 'प्रजातन्त्र व्यवहारमा देखिनुपर्छ'

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह अहिलेका शासकहरुको काम गर्ने शैलीबाट असन्तुष्ट छन् ।

त्यसलाई उनले ७० औँ प्रजातन्त्र दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देशमा प्रेशित गरेका छन् ।

राजनीतिक दललाई उनले व्यवहारमा प्रजातान्त्रिक आचरण देखाउन सन्देश दिएका छन्। उनले प्रजातन्त्र शब्दमा भन्दा कर्ममा देखिनु पर्ने उल्लेख गरेका छन् ।

अहिले भारतमा रहेका पूर्वराजा ज्ञानेन्द्रले ‘प्रजातन्त्र शब्दमा होइन, कर्ममा उत्रनु पर्दछ, रुपमा होइन, सारमा झल्कनु पर्दछ, भनेका छन् ।

प्रजातन्त्र कुनै अलंकार वा रुपान्तरण मात्र होइन। त्यो जीवनपद्धति र व्यवहारमा देखिनु पर्दछ।

राष्ट्रको प्रतिष्ठा प्रवर्द्धन र आम जनचाहनाको परिपूर्ति नै प्रजातन्त्रको प्राण हो । प्रजातन्त्र देश र जनताको निम्ति प्रतिफलकारी हुनुपर्ने उनको धारणा छ ।

केही टाठाबाटाका निमित्त नभई प्रजातन्त्र सबै जनता तथा सिंगो देशको निम्ति प्रतिफलकारी हुनुपर्ने उनको भनाई छ ।