स्वास्थ्य

चीनबाट फर्किएका नेपालीमा कोरोना नभएको पुष्टी

काठमाडौं । चीनको वुहानबाट फर्किएका १ सय ७५ जना नेपाली कोरोना भाइरसबाट मुक्त रहेको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो ।

स्वास्थ्य परीक्षणले १ सय ७५ जनामै संक्रमण नदेखिएको पुष्टि गरेको मन्त्रालयले जानकारी दिएको छ ।

वुहानबाट फर्किएका सबैलाई क्वारेन्टाइन स्थल खरिपाटीमा राखिएको छ । सोही दिने परीक्षण गर्न सबैको नाक र घाँटीको र्‍यालको नमूना संकलन गरिएको थियो ।

नमूना संकलन गर्न मात्र चार घण्टा समय लागेको कार्यक्रममा जानकारी दिइयो ।

क्वारेन्टाइनमा बसेकाको दुई पटक स्वास्थ्य परीक्षण गर्ने प्रावधान रहेको छ । पहिलो परीक्षणले संक्रमण नभएको पुष्टी गरेको हो ।

वुहानबाट नेपाल एयरलाइन्सको जहाज प्रयोग गरी ल्याइएका नेपालीलाई खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएको छ । उनीहरुलाई शनिबार बिहान काठमाडौं ल्याइएको हो ।