बिचार

यमलोकको यात्रा

आचार्य पीपलमणि सिग्देल / न्यूयोर्क

जन्म र मृत्यु दुबै सत्य हुन् । शरीर धारण गरेर यस धर्तीमा आएपछि शरीर त्याग गरेर फेरि अर्को यात्रा तय गर्नुपर्ने हुन्छ । सदैव मृत्युको भय रहने र स्वयं भगवान् शरीर धारण गरेर आएपनि शरीर त्याग गरेर निस्कनुपर्ने भएकाले यस धर्तीको नाम मृत्युलोक रहनगएको हो ।

सनातन पूर्वीय मान्यताअनुसार मृत्यु त केवल शरीरको हुन्छ, आत्मा त अजर, अविनाशी र

शास्वत स्वरुप हो ।

शरीरको अन्त्यपछि पीण्डद्वारा निर्मित शुक्ष्म शरीरको यात्रा कसरी हुन्छ भन्ने प्रश्नको विस्तृत चर्चा गरुडपुराडमा गरिएको छ ।

महर्षि वेदव्यासद्वारा विरचित १८ महापुराणमध्ये गरुडपुराण पनि एक हो । यस महापुराणमा सर्ग वर्णन, देवार्चन, तीर्थमाहत्म्य, भुवनवृत्तान्त, मन्वन्तर, वर्णधर्म, आश्रमधर्म, दानधर्म, राजधर्म, व्यवहार, व्रत, वंशानुचरित आदि विषयको प्रतिपादन गरिएको छ । बाँकी अन्य पुराणमा देवस्तुती, भक्ति एवं महिमाको चर्चा छ भने गरुडमहापुराणमा मृत्य र त्यसपछि आत्माको गति कस्तो हुन्छ भन्ने विषय निरुपण गरिएको छ । यस महापुराणमा यमलोक यात्रा वृत्तान्त वर्णित छ ।

मृत्युको १३ दिनपछि पापीजनलाई यमराजका दूत पाशोमा बाँधेर यात्राका लागि तयार गर्दछन् ।

हातमा अंकुश लिएका भयानक यमदूतहरु क्रोधका साथ लौराले हिर्काउँदै पृथ्वीको दक्षिण दिशामा रहेको यमलोकमा लिएर जान थाल्छन् । यो यममार्गको यात्रा सहज भने छैन । बाटोमा कुश, बालुवा, पत्थर, किलो, काँडा, बाबियो आदि चिजहरुले भरिएको हुन्छ । बाटाको कुनै भागमा आगो दन्किरहेको हुन्छ भने कतैकतै प्रचण्ड गर्मी । यस्तो झेल्दै जीवात्माले वीभत्स चीत्कार गरेपनि यमदूत घिसारी रहन्छन् । शरीर जलेर पीण्डले बनेको शूक्ष्म शरीरलाई पनि यममार्गमा आफ्नो कर्म अनुसार अनेक जन्तुले खान थाल्छन् । यसरी यममार्गमा जीवलाई अनेक दुःखपीडा आइलाग्छ ।

पृथ्वीदेखि यमलोकसम्म १६ वटा नगर पर्दछन् । याम्या, सौरिपुर, नगेन्द्रभवन, गन्धर्वपुर, शैलागम, क्रौंच, क्रूरपुर, विचित्रभवन, बह्वापद, दुःखद, नानाक्रन्दपुर, सुतप्तभवन, रौद्र, पयोवर्षण, शीताढ्य तथा बहुभीति यममार्गका रहेका नगर हुन् । पहिलो नगरमा प्रवेश गर्नेवित्तिकै जीव हे छोराछोरी मेरो रक्षा गर भन्दै आफूले गरेका पापकर्मको स्मरण गर्दछ । यमदूत मृत्युको १८ औ दिनमा यस नगरमा लिएर जान्छन् । यहाँ पुष्पभद्रा नामक नदी तथा अत्यन्त सुन्दर वटवृक्ष पनि देखेर जीवलाई आराम गर्ने इच्छा जाग्दछ परन्तु यमदूत विश्राम गर्न दिंदैनन् । यस पहिलो नगरमा पनि आफन्तले दिएको पीण्ड भोजन गर्दछन् । यस पछि

यात्रा सौरिपुरतिर अघि बढ्छ । यस नगरमा यमदूतले यातना दिन थालेपछि जीव विलाप गर्न थाल्छ ।

जलाशयो नैव कृतो मया तदा

मनुष्यतृप्त्यै पशुपक्षितृप्तये ।

गोतृप्तिहेतोर्न च गोचरः कृतः

शरीर हे निस्तर यत् त्वया कृतम् ।।

अर्थात् यस जीवनमा मनुष्य तथा पशुपक्षि तृप्तिका लागि मैले कुनै कुवा बनाइन, गाईको सेवाका लागि गाई चर्ने भूमिको दान पनि मैले दिइन । अतः हे शरीर जस्तो कर्म गरेको थियो त्यस्तै भोग गर ।

यस नगरबाट पनि पीण्ड भोजन गरी अघि बढ्दा यमदूतले खड्ग प्रहार गरेपछि पीडित हुँदै जीव यसरी प्रलाप गर्दछ ।

न नित्यदानं न गवान्हिकं कृतं

पुस्तं च दत्तं न हि वेदशास्त्रयोः ।

पुराणदृष्टो न हि सेवितोऽध्वा

शरीर हे निस्तर यत् त्वाया कृतम् ।

हे शरीर मैले जलादिको दान दिइन, नियमित भोजनले गोसेवा पनि गरिन, वेद आदि शास्त्रको दान तथा पुराणमा बताइएका तीर्थयात्रा पनि गरिन । अतः कर्म अनुसार दुःख भोग ।

त्यसपछि नगेन्द्रनगर पुगेको जीव यमदूत यातनाले पीडित हँदै यसरी विलाप गर्छ

पराधीनमभूत् सर्वं मम मूर्खशिरोमणेः ।

महता पुण्ययोगेन मानुष्यं लब्धवानहम् ।।

अर्थात् धेरैधेरै पुण्यको शंचय गरेर मनुष्य जीवन मिलेको थियो तर म मूर्खको सबै कुरा पराधीन भयो र मनुष्य जीवन पाएर पनि कुनै सत्कर्म गर्न सकिन ।

यसरी विलाप गर्दै मृत्युको तेस्रो महिना बितेपछि जीवलाई गन्दर्भ नगरमा लिएर जान्छन् ।

यस नगरमा पुगेपछि पनि विलापको क्रम जारी नै रहन्छ ।

मया न दत्तं न हुतं हुताशने

तपो न तप्तं हिमशैलगव्हरे ।

न सेवितं गाङ्गमहो महाजलं

शरीर हे निस्तर यत् त्वया कृतम् ।।

मैले मानव जीवनमा हवनको माध्यमबाट आहुति दिइन र हिमालयमा गएर तपस्या पनि गरिन, त्यसैगरी पवित्र गंगाजलको सेवन पनि गरिन । अतः कर्मअनुसार दुःख भोग्नुपर्छ ।

त्यसैगरी मृत्युको चौथो महिनामा शैलागमपुरमा लिएर जान्छन् । यस नगरमा ढुंगाले हिर्काएपछि लडेर रुँदै जीव विलाप गछन् ।

न ज्ञानमार्गो न च योगमार्गो

न कर्ममार्गो न च भक्तिमार्गः ।

न साधुसङ्गात् किमपि श्रुतं मया

शरीर हे निस्तर यत् त्वया कृतम् ।।

मैले न ज्ञानमार्ग या योगमार्ग या भक्तिमार्गको नै अनुशरण गरें न त असल संगत नै गरे त्यसैले कर्मअनुसार दुःख भोग गर्नुपर्छ ।

त्यसैगरी छैठौं महिनामा पापी जीव परिवारजनको उपदेपश आदि माध्यमबाट सत्कर्ममा लगाउन नपाएकोमा पश्चाताप गर्दछ । यसरी अघि बढ्दै आठौं नगरमा पुगेपछि मेरा मातापिता, भाइ, पुत्र, आदि आफन्तजन को होलान् जो मलाई यस्तो पीडाबाट बचाउन सक्दछन् बनी विलाप गर्दछन् । यसैगरी परोपकार गर्न नसकेकोले जीवन बेकार गएको भनी पश्चाताप गर्दछन् ।

अघि बढ्दै जाँदा बाटोमा वैतरणी नामक नदी पर्दछ । एक सय योजन चौडाई भएको यो नदी रगत र पीपले भरिएको हुन्छ जीवनमा गाई दान गरेको व्यक्तिलाई यो नदी पार गर्न सहज हुन्छ परन्तु गाईको दान नगरेको जीवलाई यो नदी पार तर्न धेरै कठीन हुन्छ । नदीपारगरेपछि पनि यात्रा जारी रहन्छ । बाँकी यात्रामा पनि आफ्नो परिवारजनको सेवा याद गर्छ । एक वर्षमा सन्ततिले दिएको पीण्ड खाँदै, यमदूतको मार खाँदै र जीवनमा गरेका पाप कर्मको स्मरण गर्दै ८६ हजार योजनकोयात्रा सकेर यमपुरीमा पुग्दछ । यमलोक ४४ योजनमा फैलिएको छ । यसै लोकमा जीव रातोरातो आँखा भएको भयंकर आकृतियुक्त यमराजको दर्शन हुन्छ । चित्रगुप्तले तयार पारेको विवरण हरी जीवको आगामी यात्रा तय हुन्छ । भगवानको भक्ति गरेको भए वैकुण्ठलोक, पुण्यकर्म गरेको भए स्वर्गवास, पाप कर्म गरेको भए नरकबास, या पुनर्जन्म । वैकुण्ठधाम मिलेमा ८४ लाख प्रकारका जीवको जन्ममृत्युरmपी चक्र चल्न थाल्छ । स्वर्गमा सुख नै सुख हुन्छ भने नरकमा दुःख नै दुःख हुन्छ । यो दुबैको मिश्रण पृथ्वीलोक हो, यहाँ सुखदुःख दुबै घामछायाँजस्तै घुमिरहन्छ ।

गरmडपुराणमा वर्णन गरिएको यमलोक यात्रावर्णनले कर्मको महत्वलाई झल्काएको छ । सत्कर्मले मृत्युपछिको यात्रा पनि सहज हुने तथा पापकर्ममा जेलिएमा भयानक हुने विषयलाई चित्रण गरिएको छ ।

संस्कृत साहित्यमा समालोचनका लागि साग र तृण विवेचना गर्ने बुद्धि हुनु जरुरी छ । बारीबाट ल्याएको केही झार मिसिएको सागलाई कसैले सागमात्र रहेछ भन्छन् भने कसैले झारमात्र रहेछ भन्छन् । वस्तवमा साग र झार छुट्याउन सक्ने विवेचनात्मक बुद्धिले शास्त्रको मतलाई ग्रहण गर्नसके मात्र हामा दृष्टि र व्यवहार सही हुन सक्छन् । अनिमात्र हामी प्रगतिको पथमा लम्किन सक्छौं । शस्त्रीय मतलाई समयानुकुल ग्रहण गर्ने सोच राख्नुभन्दा जलाउन, भड्काउन र भजाउन लाग्ने कुत्सित प्रवृत्तिको शिकार हुन हामी अझै कति विवश हुनुपर्ने हो ?