बिचार

गाँजाशास्त्र : अरु खोल्ने हामी छोप्ने ?

पुरुषोत्तम लम्साल / भर्जिनिया

मैले गाँजा नपिएको होइन, अनकूलता र आवश्यकतामा उपलब्ध भयो भने अझै पनि पिउन आपत्ती छैन । तर पत्याउनुहोस्, आजको लेख गाँजै खाएर लेखिरहेको छैन ।

गाउँबाटै व्यक्तिगत अनुभव बाँड्छु । गाउँमा बाँकेघर (शैलीगत रुपमा एक प्रकारको ग्रामीण घर) मा बाँके हजुरबा थिए । बाँकेघरको पल्लोपटि थियो जो बा (समवयी रामशरनका पिता) थिए । त्यो भन्दा अलिक पर तीनथुम्कीमा थियो तीनथुम्की महादेव । त्योभन्दा पर गएपछि लामाबाजे भेट हुन्थ्यो । अब फटाफट पाँच मिनेट हिडेपछि बितलव छोइन्थ्यो जहाँ दामेकाका भेटिन्थे । दामेकाकाको घरै मुन्तिर थियो बितलव महादेवथान । दामेकाकाको दबाइखाना थियो र, उहाँ ननरजिस्टर्ड मेडिकल पर्सन । तर त्यहाँ सांसारिक वा भौतिक दबाईभन्दा आध्यात्मिक दबाईको अन्तरंग चर्चा हुन्थ्यो । ‘गाँजालाई यसरी पिस्नपर्छ कि सिलौटोमा जमेको गाँजाको लेपमा लोहोरो टाँसिनपर्छ’, काका भन्थे– त्यसपछि मात्रा मिलाएर उडाए पनि भो, घोटे पनि भो, बीषै बनाए भो, अमृतै बनाए पनि भो । विरामी वस्तुभाउलाई दिए पनि भो, बिरामी मान्छेलाई मात्रा पु¥याए पनि भो ।’

पात्रमा नजाऔं तर, गाँजा के हो भन्ने थाहा नहुँदा चलन र सँस्कृति भनेर मैले तिनथुम्की र बितलव महादेवका आँगनमा पर्वअनुसार गाँजा सेवन गरें । कोकोसँग बसेर ? प्रश्नको गोपनियता राखौं तर धूनी जगाउँदै पनि, धूनीबेगरै पनि । त्यो थियो सँस्कृतिमा बाँधिएको सन्दर्भ । सामाजिक यथार्थ अन्यत्रसरह मेरा गाउँमा पनि उही थियो, तागाधारी बर्गभित्र मदिराजन्य पदार्थ तुच्छ थियो, घृणित थियो भनौं बर्जितसरह थियो तर गाँजा एक किसिमले स्वीकृत । यसैले होला बालबालिकाले विशेष पर्वमा गाँजालाई विशेष उपयोग गर्नु आपत्ति मानिएन । त्यो थियो सामाजिक बर्गको मनोविज्ञान ।

गाउँमा पेट दुखे पनि गाँजाको चिलिम पड्काउने थिए, टाउको दुखे पनि सोतेमा गाँजा भर्ने र त्यसमाथि जुटको डोरी सल्काएर धुँवा उडाउने भेटिन्थे । काम नगर्नेले आनन्दका लागि, काम गर्नेले थकान मेट्न र उर्जा जोहो गर्ने बाटो । लामो नलीयुक्त हुक्काको शीरमा रहेको फराकिलो चिलिममा सख्खरै मिसाएर मोलिएको मुठ्ठीभरी गाँजाको उच्चबर्गीय आनन्द र विलासको सन्दर्भ अर्कै हो । तर गाउँको बेसीदेखि शिरसम्म मादक वासना छर्ने त्यो गाँजा प्रतिबन्धित पदार्थ हो भन्ने न कसैलाई थाहा थियो न चासो नै ।

उमेर बढ्यो । गाँजा नशालु वस्तु भन्ने थाहा भयो । गाँजाको कुलत हुन्छ र त्यसमा फसेकालाई गँजडी भनिन्छ भन्ने थाहा भो । जब गाँजा बीष होइन, मस्तिष्क र स्नायुको ओखती पनि हो भन्ने थाहा भयो त्यसपछि अवसर र उपलब्धतामा ‘लौ त सोम !’ भन्न छाडिएन । त्यो उमेरमा तहतहका बर्गबर्गका ‘सोम’ भेटिए । त्यो ‘सोम’ शब्द र गाँजाको सम्बन्ध धेरै पछि बुझें ।

‘सोम’ अर्थात् चन्द्रमा अर्थात् शितलता । अर्थात् सोमपान । सौम्यपान अर्थात् शान्त नशा । अर्थात्, मुक्तिकारी धुँवा । ऋग्वेदमा एउटा श्लोकको अर्थ रहेछ ‘हे सोम ! हामीलाई सबै कोणबाट पबित्र बनाइदेऊ, मनभित्र पूर्ण उर्जा (जोश) प्रवेश गराइदेऊ, हाम्रो वााणी सशक्त होस् र हामीमा उत्तम बुद्धि उत्पन्न होस् (९.९७.३६) ।’ यो ‘सोम’ ले ध्यानको उच्चतम अवस्था वा तेजोमय अवस्था प्राप्त गर्न सकिन्छ भन्दोरहेछ ।

त्यहाँ थप रहेछ, ‘सोम’ अति सामान्य मान्छेका लागि मात्र नशा रहेछ । सामान्य मान्छेका लागि त्यो ओखती रहेछ । ऋग्वेद भन्दोरहेछ ‘नशामा लीन हुनेहरुले आफ्नो बुद्धि गुमाउँछन्, निर्वस्त्र हुन्छन् र कलह निम्त्याउँछन् (८.२.१२) तर, प्रज्ञा वा बुद्धिको प्रयत्न गर्नेका लागि त्यो ‘सोम’ रहेछ । सोम औ मित्र । अर्थात्, मन्दबुद्धिका लागि नशा र ऋषी वा ज्ञानीका लागि दिव्य कर्मतिर प्रेरित गर्ने पदार्थ रहेछ ।

यसलाई पछि विज्ञानका बादशाह अल्बर्ट आइन्स्टाइनले शब्दमा यसरी उतारेछन्, No Problem can be solved from the same level of consciousness that created- Einstein .अर्थात् कुनै पनि समस्या चेतानाको त्यही तहबाट समाधान गर्न सकिंदैन जुन तहबाट त्यो उत्पन्न भएको हो । यसमा वैज्ञानिकहरुले थपे; “गाँजाको सेवनले तपाईलाई चेतनाको अर्को तहमा पुर्याएर सोच्ने वा कल्पनाशक्तिमा फेरबदल ल्याइदिन्छ” । त्यसैले होला आइन्टाइनले व्यक्तिको धुम्मपानको अधिकारमाथि प्रतिबन्ध लगाउने विपक्षमा मत प्रकट गरेका । तर विज्ञानको चर्तीकला शुरु हुनभन्दा हजारौं वर्षअगाडि पूर्वीय संस्कृतिले गाँजाको महत्व स्थापित गरिसकेको थियो । झण्डै चार हजार वर्षअगाडि (इशापूर्व १५ सय) नै लेखिएको रहेछ ।

पञ्च राज्यानिवीरुधां सोमश्रेष्ठनि ब्रुमः । दर्भो भङ्गो यवः सहस्ते नो मुञ्चन्त्ववंहस ।। (अथर्ववेद भाग ५)

अर्थात् लहराका पाँच पवित्र वनस्पति कुश, भांग (गाँजा) जौलगायतले हाम्रो पापमोचन गरुन्, कष्ट हटाउन् । यो त्यही गाँजा हो जसलाई सँस्कृतले अहिफेन भन्यो, अपभ्रंश भयो अफेन बन्यो र अंग्रेजीले अफिम बनाएर सर्पको बीषभन्दा कडा बीषवर्धक पदार्थको रुपमा व्याख्या गर्यो । पछि सुश्रुत संहितामा गाँजालाई सुस्ती, नजला र पाचनको दीव्यऔषधी पहिचान दिइएको रहेछ ।

दशकअगाडिसम्म कहिले उर्जाको बहानामा त कहिले आध्यात्मिक बहानामा मैले अवसर बनाएरै गाँजा पिएँ । मेरा केही समकक्षी समवयी जो विभिन्न खेलकलामा संलग्न थिए तिनले पनि उर्जाका लागि भन्दै सखारै चिलिम दर्शन गरेर मैदानमा गए । सँगै ट्रयाकमा दौडने साथी दौडको आनन्द लिनको सट्टा दूरी र गतिको चिन्तामा हुन्थ्यो । उसले पछि थाहा पायो दौडको आनन्द गाँजासँगै रहेछ । जो हात र खुट्टाको कलामा विश्वास गर्दथ्यो उसले पनि विपक्षीको चाल र आफ्नो ध्यानमा केन्द्रित हुने भन्दै भीडन्तअगाडि गाँजा पिएर उपस्थित हुनथाल्यो । यो त लडाईमा जानुअघि र लडाईबाट फर्किपछि भाश्ंग वा गाँजा पिउने भारतीय सँस्कृतिको अर्को अध्यायजस्तो लाग्यो ।

तर एउटा कुरा ढुक्क हुनुस्, गाँजा पिउने सबै बब मार्ली हुन्छन् भन्ने होइन । सबै बैज्ञानिक गाँजा पिउँछन् वा गाँजा सेवन गरेर बैज्ञानिक भइन्छ भन्ने होइन । विख्यात पौडिबाज माइकल फ्लेप्सले फगत गाँजाकै भरमा ओलम्पिकमा कूल २३ स्वर्णपदक प्राप्त गरेका होइनन् । पाइप तानेर सबै चे ग्वेभारा हुने भए विश्व अहिले साम्यवादी क्रान्तिकारीहरुको परेडस्थलै हुने थियो । गाँजा पिएरै सबै कम्युटर इञ्जिनियर स्टिभ जब्स हुने भए एप्पललाई विस्थापन गर्न उहिल्यै बनाना, ग्रेप, म्यांगो, पिच नामका मोबाइल कम्पनी खडा भइसक्थे । गाँजाकै नशामा लठ्ठिएर सबै साधु, सन्त, ऋषी वा शिवजी नै भएको कल्पना गर्नु फगत गँजडी कल्पना हो । किनकि, स्वैरकल्पनाको उत्पत्ति पनि नशाको गुणै हो, धर्मै हो ।

गाँजा ओखती हो कि नशा ?

एउटा चक्कुलाई चिकित्सकले शल्यक्रियामा उपयोग गर्दछ । त्यही चक्कु अपराधीका लागि अपराधको हतियार हुन्छ । यसको अर्थ चक्कुलाई प्रतिबन्ध लगाउनपर्छ भन्ने तकसँग सहमत हुन सकिदैन । गाँजालाई त्यही चक्कुको रुपमा व्याख्या गर्दा हुन्छ । नत्र विश्वका २४ वटा देशले चिकित्सकीय प्रयोजनका लागि गाँजालाई बैध घोषणा गरेको र ४८ वटा देशले गाँजालाई प्रतिबन्धको स्थानमा नियमन गरेको अज्ञानी र अबुझ भएर हो भन्न मिल्दैन । विश्व स्वास्थ्य संगठनले क्यान्सर, एड्स, दमलगायतका दर्जनौं रोगका लागि गाँजा औषधी हो त्यसै भन्ने थिएन । एपिलेप्सी एण्ड बिहेभियर पुस्तक लेखेर कुष्ठरोगका लागि गाँजा नै अचूक ओखती हो भनेर संसारले पछ्याउने थिएन ।

नेचुरल थेरापी एण्ड क्यान्सर ड्रग डिस्कभरीले अर्बुद रोगका बिरामीलाई केमोथेरापी चलाएपछि गाँजाको उचित मात्र सेवन गराउने हो भने विकृत सेलको विकास रोकिन्छ भनेर भन्ने थिएनन् । इन्टरनेशनल जर्नल अफ आयुर्वेद एण्ड फर्मास्यूटिकल्सले गाँजालाई रोग प्रतिरोधी ४० तत्व भएको संसारकै शक्तिशाली वनस्पति नामाकरण गर्ने थिएनन् । संसारका श्रेष्ठ खेलाडीहरुले द मोस्ट डाइनामिक प्लान्ट अन अर्थ भनेर ध्यान केन्द्रित गर्न खेलाडीका लागि गाँजाको वकालत गर्ने थिएनन् । क्यानाबीसः इभोल्युसन एण्ड एथनोबोटनी पुस्तक लेखेर पश्चिमाहरुले गाँजाको विधिपूर्वक सेवनले स्नागु र मस्तिष्कका दर्जनौं जटिल रोगहरुमा काम गर्ने व्याख्या गर्ने थिएनन्चाइनिज पर्माकोपिया (परम्परागत चिनियाँ पद्दतिअनुसार औषधी बनाउने विधि) को नक्कल गरेर अमेरिकाले दर्दनाशक र स्नायु तन्तुका लागि गाँजा र गाँजानिर्मित औषधीलाई शहरशहरमा खुल्ला गर्ने थिएन ।

संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानले जहाँ गाँजालाई बैधता दिइएको छ त्यहाँ लागूऔषध र सम्बन्धित अपराधमा बृद्धि भएको कुनै तथ्यांक छैन भनेर संसारलाई भन्ने थिएनन् । गाँजाकै कारण तेस्रो चरणमा पुगेको क्षयरोगबाट बचेकी प्रिया मिश्राले गाँजालाई गरिबको नशा र औषधी दुबै मानेर त्यसको समूचित प्रयोगका लागि संसारलाई आग्रह गर्ने थिइनन् । क्यानाबीज फ मेडिकल यूज :अ साइन्टिफि रिभ्यु (२०१७) ले ४८ देशमा गाँजाको उपयोगको विषद् अध्ययन गरेर गाँजाको प्रयोगका लागि जहाँ कानुनी अड्कचन छ त्यहाँको व्यवस्थामा लचकतापूर्वक फेरबदल गर्न भइरहेको प्रयत्नको प्रशंसा गर्ने थिएन ।

हिप्पीकालीन समयमा नेपाल र भारतलगायतका देशमा गाँजामाथि प्रतिबन्ध लगाउन दवाव दिने र हस्तक्षेप गर्ने अमेरिकाको ९ शहरमा अहिले गाँजा बैध छ र त्यहाँ तिब्रत्तर विकास भइरहेको उद्योगमा गाँजा खेती पर्दछ । त्यहींको ३१ राज्यमा औषधीय प्रयोजनका लागि गाँजा उत्पादन, विक्रि र उपभोग छुट छ । अल्जाइमरका बिरामीका लागि दीव्यौषधी भनेर गाँजा पसलपसलमा उलपब्ध छ । उसै पनि अमेरिकाको कृषि इतिहासमा सीमान्तकृत किसानको आयआर्जनमा सुधार ल्याउन गहूँ र मकैपछि गाँजा खेतीलाई उपयोग गरिएको दृष्टान्त भुल्न हुँदैन (मार्टिक बेकर सन् १८१२ को केन्टकी) । त्यहाँको जुन राज्यमा गाँजा प्रतिबन्ध छैन त्यहाँ दर्दनाशक (पेनकिलर) औषधी र मदिराको व्यापार चौपट भएपछि मदिरा (लिकर) उत्पादक र व्यवसायीले गाँजा प्रतिबन्ध फुकवा रोक्न संघीय सरकारसँग गरेको गुहार (द वाशिंगटन पोष्ट) रिपोर्ट बनेर आउने थिएन । र, गाँजा उत्पादक ठूलो संस्था ग्रिनवेभका संस्थापक म्याट कार्नेसले आउँदो वर्षसम्म अमेरिकामा गाँजाको वार्षिक कारोबारले ३० बिलियन डलरको आँकडा छुने र केही वर्षपछि अमेरिकाले अन्य वस्तुसहर गाँजालाई पनि अन्य देशमा निर्यात गर्ने दावी गर्ने थिएनन् ।र, हामी चाँहि प्रतिबन्धको नाममा गाँजाको अवैध व्यापारलाई चालिस वर्षदेखि संरक्षण गर्दै आइरहेका छौं । गाँजा नष्ट गर्नु प्रहरी र प्रशासनका मुखियाहरुको पदबहाली र सरुवाताकाको हतियार मात्र बनाइरहेका छौं । जंगबहादुरको अफिमको उदाहरणमै रमाइरहेछौं । त्यसैले संसद्मा विरोध खतिवडालगायतका नेताको अगुवाईमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावको सकारात्मक सुनुवाई आवश्यक छ । गाँजालाई अपराध र घृणाको वस्तु होइन औषधीय वनस्पतिको रुपमा स्वीकार गरौं । केशव स्थापितको शैलीमा वायुपंखी घोडा चढेर गाँजाले कायापलट गर्छ नभनौं, तर नियामक निकायको निगरानीमा माउन्टेन मारिवाना फर मेडिसिनसम्म चाँहि सोचौं ।​​​​​​​जय शम्भो !