रोचक खवर

नेपालमा सुनको कीर्तिमानी मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले शुक्रबार कीर्तिमान कायम गर्दै अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७८ हजार १ सय र तेजावी सुन ७७ हजार ८ सय रुपैयाँमा कारोबार भयो ।

यो अहिलेसम्मकै बढी हो । शुक्रबार चाँदीको मूल्य प्रतितोला ९ सय १५ रुपैयाँ पुगेको छ ।

बिहीबारको तुलनामा सुनको मूल्य तोलामा एकै दिन पाँच सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने यथावत नै रहेको छ ।

६ फागुनयता सुनको मूल्यले हरेक दिन कीर्तिमान राखेको छ ।

अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्दा त्यसले नेपाली बजारमा समेत सुनको मूल्यले निरन्तर भाउ प्रभावित गरिरहेको छ । मूल्य बढेपछि सुनको खपत भने निरन्तर घट्दो क्रममा रहेको छ ।