स्वास्थ्य

कोरानाले दक्षिण कोरियामा महामारीको रुप लिँदै

सिओल । चीनबाट फैलिएको कोरोना कोभिड, १९ भाइरसले अब दक्षिण कोरियालाई सताउन थालेको छ । दक्षिण कोरियाले औपचारिक रुपमै यस रोगले चिन्ता बढाएको स्वीकार गरेको छ ।

शुक्रबार एकै दिन दक्षिण कोरियामा १ सय जनामा संक्रमण देखिएको छ ।

लगत्तै प्रतिक्रिया सार्वजनिक गर्दै दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले कोभिड १९ सँगको लडाइँ गम्भीर मोडमा पुगेको बताएका छन् ।

यद्दपी रोग नियन्त्रण गर्न सरकारले कुनै कसुर बाँकि नराख्ने समेत बताएका छन् ।

कोरिया सरकारका अनुसार शुक्रबारसम्म २ सय ४ जनामा यो संक्रमण देखिएको छ । कोरियामा १ जनाको ज्यान गइसकेको छ ।

अवस्था निकै जटिल रहेको राष्ट्रपतिले स्वीकार गरेका छन् । उनले सबैलाई सकेसम्म छिटो स्वास्थ्य जाँच गर्न र लक्षण देखिनासाथ क्वारेन्टाइनका मापदण्ड अपनाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री चुङ से क्युनका अनुसार कोरियाले यसअघि बाहिरबाट भाइरस आफ्नो देशमा नआओस् भन्नेमा ध्यान दिइएको थियो ।

अब भने सरकारले स्थानीय रूपमा फैलिन नदिनमा ध्यान केन्द्रीत गर्ने बताएको छ ।

कोरियाले सचेत रहन, घरबाहिर कम निस्कन प्रभावित क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।

चीनबाट फैलिएको यो संक्रमणले २ हजार मानिसको ज्यान गइसकेको छ । विश्वभर हजारौं मानिसमा यसको संक्रमण फैलिइसकेको छ ।