स्वास्थ्य

दक्षिण कोरियामा दैनिक दोब्बरले बढ्दै कोरोना संक्रमित

काठमाडौं । चीनपछि सबैभन्दा ठूलो प्रभावित मुलुकका रुपमा कोरोनाले दक्षिण कोरियामा आक्रमण थालेको छ ।

यहाँ एकै दिनमा कोरोना भाइरसको सङ्क्रमण दोब्बरले बढेको कोरियाली अधिकारीहरुले पुष्टी गरेका छन् ।

शुक्रवारसम्म २०४ व्यक्तिमा कोभिड–१९ को संक्रमण देखिएको थियो । शनिबार दक्षिण कोरियामा थप २२९ जना नयाँ बिरामी भेटिएको पुष्टी भएको छ । यससँगै कोरियामा मात्र संक्रमितको संख्या ४३३ पुगेको छ । यो चीनपछि सबैभन्दा ठूलो संख्या हो ।

स्वास्थ्य उपमन्त्री किम गाङ–लिपले कोरोनाभाइरस प्रकोप ‘गम्भीर अवस्थामा’ प्रवेश गरिसकेको स्वीकार गरेका छन् ।

अधिकांश नयाँ बिरामी अस्पताल आसपासका क्षेत्रबाट देखिएका छन् । कोरियाको पूर्व शहर डाएगुमा धेरै संक्रमित पाइएका छन् ।

दक्षिण कोरियामा दुई जनाको संक्रमणले ज्यान गइसकेको छ । डाएगु र चेओङ्डो शहरलाई ‘विशेष निगरानी क्षेत्र’ घोषणा गरिएको छ।

यहाँ लाखौं मानिसलाई घर भित्रै बस्न भनिएको छ । यस क्षेत्रमा मात्र सयौं नेपाली समेत कामको सिलसिलामा पुगेका छन् ।

कोरियामा करीव ६० हजार नेपाली कामको सिलसिलामा पुगेका छन् । चीनबाट शुरु भएको यो रोगले अहिलेसम्म ७६ हजार २८८ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

यसले दुई हजार ३४५ जनाको मृत्यु भएको छ । चीनबाहिर २६ देशमा एक हजार २०० जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ ।

चीनबाहिर आठ जनाको ज्यान गइसकेको छ ।

एजेन्सी