समाचार

आज भारतमा ट्रम्पको भब्य स्वागत, अहमदावादमा नमस्ते ट्रम्प

अहमदावाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीलाई आज भारतमा भब्य स्वागत हुँदैछ ।

बिहान साढे ११ बजे गुजरातको अहमदावाद पुग्ने अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी करीव २२ किलोमिटर लामो रोड शोमा निस्कनेछन् । त्यहाँबाट उनीहरुलाई मोटेरा रंगशाला लगिदैछ ।

यो रंगशाला संसारकै ठूलो रंगशाला हो । यही कार्यक्रममार्फत रंगशालाको उद्घाटन समेत हुने भएको छ ।

सन् २०१५ बाट निर्माण थालिएको यो रंगशालामा १ लाख १० हजार मानिसले कुर्सीमै बसेर खेल हेर्न सक्ने क्षमता रहेको छ ।

यस रंगशालामा हजारौं मानिसले उनको जयजयकार गर्नेछन् । भारत उड्नुअघि आफू भारत भ्रमणमा उत्साहित रहेको प्रतिक्रिया राष्ट्रपति ट्रम्पले दिएका छन् ।

ट्रम्पका साथमा श्रीमती, छोरी तथा ज्वाइसमेत भारत आएका छन् । उनीहरु अहमदावादस्थित विमानस्थलमा उत्रिने छन् ।

नमस्ते ट्रम्पको कार्यक्रम सकिएपछि राष्ट्रपतिको टोली आग्रास्थित ताजमहल पुग्नेछ ।

त्यहा करीव १ घण्टा बिताएपछि उनी दिल्ली प्रस्थान गर्नेछन् । दिल्लीमा उच्चस्तरीय भेटवार्ताका कार्यक्रम राखिएका छन् । आफ्नो कार्यकालमा पहिलो पटक ट्रम्प भारत भ्रमणमा आएका हुन् ।