समाचार

आलोचित बन्यो प्रधानमन्त्रीको वर्थडे केक

काठमाडौं । रोगले थलिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मोत्सव जन्मस्थान तेह्रथुमको आठराईमा मनाउने इच्छा देखाए । सोहीअनुसार व्यवस्थापनमा जुट्यो स्थानीय सरकार ।

हजारौं विद्यार्थीलाई पाठ्यक्रम बाड्ने, वृद्धवृद्धालाई न्यानो लुगा बाड्ने र केक काट्ने रवाफिलो शैलीसहित हेलिकोप्टरमा प्रधानमन्त्री जन्मस्थान पुगेका थिए ।

त्यहा पुगुन्जेल त सबैको सहानुभूति नै थियो । तर, जब उनले काटेको केक सार्वजनिक भयो, यो विषय अहिले सामाजिक संजालमा आलोचनाको विषय बनेको छ ।

ओलीको जन्मदिनमा बनाइएको केकमा नेपालको नक्सा रहेको छ । उनले त्यो नक्सा काटेका छन् भने उच्च पदस्थ अधिकारीले केक खाएका छन् ।

यसलाई धेरैले देशप्रतिको अपमान भन्दै प्रधानमन्त्रीको आलोचना गरेका हुन् ।

यो केक अर्डर गर्ने निकायलाई प्रधानमन्त्रीले नै यस्तो केक बनाउने दिएका थिए वा स्थानीय सरकारहरुले चाकडी गरेका हुन भन्ने त खुलेको छैन । तर, गोकुल बास्कोटा काण्ड नसेलाउँदै अब फेरी केक काण्डले माहोल तताउने निश्चित रहेको छ ।