समाचार

सरकारलाई अलोकप्रिय बनाउन विपक्षी लागे : प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई अलोकप्रिय बनाउन विपक्षीहरु सक्रिय भएको बताएका छन् ।

नेकपाको अध्यक्ष समेत रहेका ओलीले पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै अनावश्यक विषयलाई उचालेर जनतामा भ्रम छरेको उनको आरोप छ ।

‘गैरविषयलाई विषय बनाउने, कहिले के कहिले के भनेर सरकारको आलोचना गर्ने,’ प्रधानमन्त्रीको भनाई थियो ।

विपक्षीले आफ्नो अस्तित्व रक्षाका लागि मात्र यो सबै हतकण्ठा गरिरहेको उनको भनाई छ ।

प्रधानमन्त्रीको अनुसार विपक्षी कुखुराका चल्ला जस्तै हुन् ।

‘कुखुराका चल्लाहरूले फट्यांगो टिपेर गुरर कुद्छ। त्यो चल्लाले के टिप्यो थाहा नपाइकन अरू चल्लाहरू पछिपछि कुद्छन्,’ प्रधानमन्त्री ओलीले भने ।

संसदमा विधेयक पेश हुने भन्दै त्यहाँ छलफल गर्नुको साटो जनतामा भ्रम छर्ने र सरकारलाई अलोकप्रिय बनाउन भूमिका खेल्ने काम भइरहेको उनको भनाई छ ।

संसदमा विषयवस्तुमा छलफल गर्नुको साटो कुरै नबुझी विरोध गर्ने गरेको उनको भनाई छ ।

मिडिया काउन्सिल, सूचना प्रविधि, मानव अधिकार सम्बन्धी विधेयक संसदमा दर्ता भएपनि यसको विरोधमा दलहरु उभिएका छन् । प्रधानमन्त्रीले यो प्रवृत्तिको आलोचना गरेका हुन् ।