समाचार

नेजाको अधिवेशनबारे न्यूयोर्कमा समुदायसंग छलफल

कल्पना घिमिरे
न्यूयोर्क/अमेरिका
नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आगामी मे महिनामा हुने सातौं अधिवेशनका सन्दर्भमा न्यूयोर्कस्थित नेपाली समुदायसंग छलफल गरेको छ । ज्याक्सन हाइटमा आइतबार आयोजना गरिएको समुदायसंगको अन्तरक्रियामा आगामी अधिबेशनलाई सफल रुपमा सम्पन्न गर्नका लागि समुदायको के कस्तो सहयोग हुनेछ ? भन्ने विषयमा बिस्तृत छलफल गरिएको थियो । हरेक २/२ वर्षमा हुने नेजाको अधिवेशन यसपाली न्यूयोर्क शहरमा हुँदैछ भन्नेबारे पनि समुदायलाई जानकारी गराइएको थियो । अधिवेशन मे महिनाको २ र ३ गते हुनेछ ।
अमेरिका र क्यानडालाई कर्म क्षेत्र बनाएका पत्रकारहरुको भेलामा झण्डै १ सय ५० पत्रकारको सहभागीता हुनेछ । अधिबेशनका लागि नेपालबाट नेपाल पत्रकार महासंघका अध्यक्षको समेत सहभागीता रहनेछ ।
नेजाले अमेरिकाका विभिन्न राज्यमा बसोबास गरिरहेको नेपाली समुदायसँग सुमधुर सम्बन्ध स्थापित गराउने उदेश्यले प्रत्येक वर्षको साधारण सभा तथा अधिवेशन फरक/फरक राज्य र शहरमा गर्दै आएको छ । त्यसै अनुरुप यसपाली न्यूयोर्कमा गर्ने तय गरिएको हो ।


न्यूयोर्कमा कार्यक्रम गर्दै गर्दा बिभिन्न राज्यबाट आउने पत्रकारहरुलाई खान/बस्न लगायत २ दिनको सम्पूर्ण ब्यवस्थापन गर्नुपर्ने भएकाले कार्यक्रम सम्पन्न गर्न समुदायको आर्थिक सहयोग आवश्यक पर्ने जानकारी गराउँदै संस्थाका कार्यबाहक अध्यक्ष बिकासराज न्यौपानेले समुदायलाई सकेको सहयोग गरिदिन आग्रह गरेका छन् ।
यस अघि कोलोराडो, वासिङगटन, क्यालिफोर्निया, भर्जिनिया, टेक्सस लगायतका राज्यमा नेजाका विगतका साधारण सभा तथा अधिवेशन गर्दा समेत समुदायले ठूलो सहयोग गरेको उनले जानकारी गराए । साथै आगामी कार्यक्रमलाई सफल बनाउन न्यूयोर्कबासी नेपाली समुदायको ठूलो हात रहने उल्लेख गर्दै समुदायप्रति ठूलो अपेक्षा रहेको पनि बताए । समुदायसंग छलफल गर्नका लागि कार्यबाहक अध्यक्ष न्यौपाने र संस्थाका सचिब शुरज भण्डारी टेक्ससदेखि आएका थिए ।
नेजाका पूर्व अध्यक्ष तथा हाल सल्लाहकार आङछिरिङ शेर्पाले लामो समयपछि न्यूयोर्कमा हुन लागेको पत्रकारको भेलामा सहयोग गर्न पाउनु सुमदायका लागि पनि एउटा अवसर भएको बताए ।

अधिवेशनको तयारीका लागि न्यूयोर्क र आसपासका पत्रकारहरुको सहभागीतामा बिभिन्न उपसमिति बनाइएको छ । उपसमिति मार्फत तयारीको काम तिब्र पारिएको मुल आयोजक समितिले जनाएको छ ।
कार्यक्रममा उपस्थित समुदायका अगुवाहरुले पत्रकारको संस्थालाई अधिवेसन सम्पन्न गर्नका लागि आफुहरुले सक्ने सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । आर्थिक सहयोग, भौतिक सहयोग, समुदायको उपस्थिति, अधिबेशनका लागि शुभकामना, बिज्ञापन प्रकाशन लगायत के कसरी सहयोग गर्न सकिन्छ त्यसरी नै सहयोग गर्न पनि समुदायलाई अनुरोध गरिएको छ ।
कार्यक्रममा समुदायको तर्फबाट बी आर लामा, आनन्द बिष्ट, सञ्जय थापा, बिश्व शाह, लोक चेम्जोङ, लुइसाङ वाइबा, रामहरी अधिकारी, रोशन ढुगाना, मिङमा शेर्पा, नर्वदा क्षेत्री, शमीर महर्जन, अन्जन श्रेष्ठ, टेक गुरुङ, उपेन भट्ट, बिष्णु सुबेदी, प्रमोद सिटौला, अनन्त सुबेदी, राजन कर्माचार्य, नबीन शेरचन, अमित शाह, अभय ढुंगेल, आङनिमा गेल्जेन शेर्पा, बिकी पुलामी, प्रभात सापकोटा, हरीस चन्द्र हमाल, बिनोद चापागाई, कृष्ण आचार्या, सूर्य लम्साल लगायत सहभागिता थियो । अमेरिकामै रहेर बिभिन्न माध्यमले पत्रकारितामा आवद्ध रहेका न्यूयोर्क, न्यूजर्सी, पेन्सिलभेनिया, न्युह्यामसायर,  टेक्सस लगायतका पत्रकारको उलेख्य सहभागिता थियो ।