समाचार

नेपाल ट्रष्टको श्वेतपत्र सार्वजनिक, बाबुरामको पालामा १७२ रोपनी व्यक्तिलाई

काठमाडौं । नेपाल सरकारले नेपाल ट्रष्टको नाममा देशभर रहेको सम्पत्तिसम्बन्धी श्वेतपत्र सार्वजनिक गरेको छ। मंगलबार पत्रकार सम्मेलन गरेर नेपाल ट्रष्टका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले श्वेतपत्र जारी गरेका हुन्।

जारी श्वेतपत्रमा नेपाल ट्रष्टको नाममा देशका विभिन्न १० बढी जिल्लामा २१ हजार पाँच सय ६२ रोपनी जग्गा र अन्य सम्पत्ति छ।

श्वेतपत्रमा उल्लेख भएअनुसार काठमाडौँ उपत्यकामा मात्रै ४ हजार ४४२ रोपनी जग्गा ट्रष्टको नाममा छ। काठमाडौं उपत्यकाभित्रको १ सय ७२ रोपनी जग्गा गुम्न पुगेको खुलेको छ।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई र ट्रस्ट अध्यक्षसमेत रहेका गृहमन्त्री विजयकुमार गच्छदारको पालामा उपत्यकामा रहेका १ सय ७२ रोपनी जग्गा विभिन्न व्यक्तिलाई बाँडिएको थाहा भएको हो।

बाबुराम प्रधानमन्त्री तथा विजयकुमार गच्छदार गृहमन्त्री (नेपाल ट्रस्टका अध्यक्ष) भएका बेला २०६९ कात्तिक २ गते थानकोट, मातातीर्थ, सतुंगल र बालाजु क्षेत्रको जग्गा मोहीको नाममा गर्ने निर्णय भएको थियो। ‘उक्त जग्गा फिर्ता ल्याउन र दोषीलाई कारवाही प्रक्रिया अघि बढिसकेको छ’, पोखरेलले पत्रकार सम्मेलनमा जनाए ।