फिचर

एकातिर बर्निको पल्लाभारी, अर्कोतिर ट्रम्पको ‘लोकप्रियता’ बढ्दै, कस्तो होला नोभेम्बरको भिडन्त ?

प्रभात भट्टराई / अमेरिका
शनिबार सम्पन्न नेभादा ककसमा सुपर जित सहित सिनेटर बर्नी स्यान्डर्स डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको टिकट हत्याउन एक कदम अघि बढेका छन् । नेभादाको उत्साहजनक जितसँगै स्यान्डर्स डेमोक्रेटिक प्रत्याशीहरुमा फ्रन्ट रनको रुपमा उभिएका हुन् ।

अहिले स्यान्डर्स ४५ डेलिगेट्स छन् । पूर्व मेयर पिट बुट्टिजजसँग २५ र पूर्व उपराष्ट्र जो बाइडेनसँग १५ डेलिगेट्स रहेका छन् । शनिबार सम्पन्न हुने साउथ क्यारोलिना प्राइमरीमा बाइडेन अग्रस्थानमा देखिएका छन् । अश्वेत मतदातामाझ उल्लेख्य लोकप्रियता हासिल गर्न नसकेका पिट बाइडेन भन्दा आफुमा स्यान्डर्सलाई हराउने सम्भावना धेरै रहेको भन्दै कन्भिन्स गर्न खोजि रहेका छन् ।

आईवा र न्यू ह्यामसरमा लज्जाजनक पराजयसँगै सुरु देखि अग्रस्थानमा रहेका पूर्व उपराष्ट्रपति बाइडेन देशब्यापी रुपमा पछि परि सकेका छन् । प्रायः सबै सर्भेक्षणहरुमा उनी २० प्रतिशतभन्दा न्यून समर्थनको अवस्थामा छन् । न्यू ह्यामसर जितसँगै स्यान्डर्स देशब्यापी सर्भेक्षणमा एक नम्बरमा उक्लिएका थिए र नेभादा जितले उनलाई थप मजबुत बनाएको छ । त्यति हुँदा पनि उनको तुलनात्मक बामपन्थी झुकावसँग वहुमत मध्यमार्गीहरु सहमत छैनन् । स्यान्डर्स अहिले देशब्यापी रुपमा औषत २५ देखि ३० प्रतिशत समर्थनको अवस्थामा छन् । आईवा ककस अघि बाइडेन ३० प्रतिशत माथिको समर्थनमा थिए ।

स्यान्डर्सले मेडिकेयर अफ अल, विद्यार्थी पढ्न कर्जा मिनाहा जस्ता लोकप्रिय कार्यक्रम अघि सारेका छन् । तर, उक्त कार्यक्रमका लागि कति खर्च लाग्छ र कहाँबाट उठाउने भन्नेबारे उनले प्रष्ट पार्न सकेका छैनन् । सहती रुपमा वाल स्ट्रिटका नाफाखोरी कम्पनीबाट कर उठाएर उक्त खर्च पूर्तीको दावी गर्दै आएका छन् । तर, त्यो रकम कति हुने भन्ने निक्र्यौल बिना त्यसको गणितिय समाधानको आधार देखिँदैन । गत सप्ताहान्तको ६० मिनेट कार्यक्रममा उनले आफ्ना ‘सिग्नेचर’ कार्यक्रमका लागि कति खर्च लाग्छ भनेर आँकलन नगरेको स्विकारे । उनको यो अवस्था २०१६ को निर्वाचनताका तात्कालिन रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्पले मेक्सिकोको सिमाना पर्खाल लगाउन गरेको प्रचारसँग मिल्दोजुल्दो देखिन्छ ।

मध्यमार्गी उम्मेद्वार धेरै रहेको फाइदा पनि स्यान्डर्सलाई पुगि रहेको छ । ३० प्रतिशत कम मत पाएर पनि ‘फ्रन्टरनर’ हुने अवस्थामा उनी सोही कारण पुगेका हुन् । आउँदो मार्च तीनमा एकै पटक १६ राज्यमा हुने सुपर ट्युड्जे प्राइमरी निर्वाचन पछि उनले संभवतः एक प्रतिश्पर्धीको मात्र सामना गर्नुपर्नेछ । त्यसका लागि पिट, बाइडेन सहित न्यूयोर्कका पूर्व मेयर माइक ब्लुमबर्ग आन्तरिक होडमा छन् । सुपर ड्युटजे पछि उनीहरु तीनमध्ये जसको अवस्था मजबुत देखिन्छ उसैलाई बाँकीले समर्थन गर्ने विश्लेषकहरुले आँकलन गरेका छन् ।

अर्कोतिर सन् २०१६ को निर्वाचनमा ट्रम्पलाई सहयोग गरेका रसियन गुप्तचरहरुले यसपाली दुई उम्मेद्वार छनौट गरेको अमेरिकी जासुसी संयन्त्रले सुइँको पाएका छन् । उनीहरुले एकातिरबाट ट्रम्प र अर्कोतिर स्यान्डर्सलाई समर्थन गरि रहेको सूचना अमेरिकी अनुसन्धान अधिकारीहरुले सिनेटर एवं हाउस अफ रिप्रिजेन्टेटिभलाई ब्रिफ गरि सकेका छन् । स्यान्डर्सले सार्वजनिक रुपमा अमेरिकी निर्वाचनमा हस्तक्षेप नगर्न रसियालाई चेतावनी दिए पनि ट्रम्प उक्त सूचना नै सत्य नभएको दावीमा छन् । तर, स्यान्डर्सले यसअघि कैयन् रसिया लक्षित प्रतिबन्धात्मक कार्यक्रमको विपक्षमा मतदान गरेका कारण उनले सहयोग पाएको र त्यो पार्टीका लागि घातक हुनसक्ने विश्लेषण पनि भइ रहेको छ ।

अर्कोतिर स्यान्डर्सलाई रोक्न सके उनका मतदाताले फेरि ट्रम्पलाई जिताउलान् कि भन्ने चिन्ता पनि डेमोक्र्याटहरुमा छ । अघिल्लो निर्वाचनमा मिचिगन, पेन्सिलभेनिया र विसकन्सनमा ७६ हजार मतअन्तरले ट्रम्पसँग हारेकै कारण हिलारी क्लिन्टन राष्ट्रपति हुनबाट रोकिएकी थिइन् । तर, ती तीन राज्यमा दुई लाख बढिले प्राइमरीमा स्यान्डर्स र फाइनल चुनावमा ट्रम्पलाई भोट हालेको तथ्य अनुसन्धानबाट खुलेको थियो । एकातिर स्यान्डर्सलाई रोक्दा उनका समर्थकले फेरि त्यहि प्रबृत्ति दोहोर्याउलान् भन्ने डर अर्कोतिर उनले उम्मेद्वारी पाए बजार अर्थतन्त्रमा विश्वास राख्ने मध्यमार्गी मतदाता भोट हाल्नै नआउलान् भन्ने पिरलो । डेमोक्रेटिक पार्टी अहिले यही द्विविधामा रुमलिन पुगेको छ ।

स्यान्डर्सले भनेजस्तै स्वास्थ्य क्षेत्रमा राज्यको नियन्त्रण बढाउँदा गुणस्तर खस्किने विश्वास बहुमत अमेरिकीहरुमा रहेको छ । अर्कोतिर उनले यस्तो समाजवादी नीति संसदबाट पारित गरेर कानून बनाउनै नसक्ने हुँदा ट्रम्पको सीमा पर्खाल जस्तै चुनावी नारामा सिमित हुने भय पनि डेमोक्र्याटहरुमा छ । यी यावत् चुनौतीका बावजुत अहिले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको टिकट हत्याउन सक्ने सम्भावनामा स्यान्डर्सनै अग्रस्थानमा छन् । उनलाई समाजवादी लेप लगाएर आफ्नो पक्षमा माहोल ल्याउन सहज ठानेकाले होला ट्रम्प पनि स्यान्डर्सलाई घुमाउरो ढंगले आफ्नो प्रतिद्वन्दि होउन् कामना गरि रहेका छन् । तर, ट्रम्पको यो कामना उनैका लागि घातक हुन सक्ने विश्लेषकहरुको राय छ ।

अर्कोतिर पछिल्ला सर्भेक्षणहरुमा ट्रम्पको लोकप्रियतामा सुधार देखिएको छ । सबैभन्दा फड्को ट्रम्पले ग्यालप न्यूजको सर्भेक्षणमा मारेका छन् । जनवरी दोस्रो पक्षमा ग्यालपमा ट्रम्पको ‘एप्रुभल रेटिङ’ ४९ प्रतिशतमा उक्लिएको थियो । फेब्रुअरीको पहिलो दुई सातामा पनि अवस्था उहि छ । तर, ग्यालपमा जस्तो सुधार इकोनोमिष्ट देखि रोयटर्ससम्मका अन्य सर्भेक्षणमा देखिएको छैन । त्यसैले उनको लोकप्रियता सुधार भइहाल्यो भनेर निचोड निकाल्न भने हतार हुन्छ । तर, स्यान्डर्सले टिकट पाएमा एक चरम दक्षिणपन्थी र अर्को प्रष्ट बामपन्थीबीचको भिडन्त भने रोचक र अनौठो हुनेमा निश्चित छ । यी दुईको भिडन्त भएमा अमेरिकी समाज अझै विभाजनको अवस्थामा पुग्न सक्छ ।