कला / साहित्य

कथा : भोलीको दोष कि मेरो ?

प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर

एक वर्षअघिको कुरा हो । एन्जिलाको मोबाइल टिनिनी.. . टिनिनी… बज्यो । एन्जिलाले ‘हेलो’ भन्नेवितिकै उताबाट आवाज आयो ।

‘एन्जिला, म शरद… । म तिमीसँग एकपटक, मात्र एकपटक भेटन चाहन्छु । बागबजारको ए-वन क्याफेमा एकपटक भेटौँ न, जहाँको कफी पिएर हामी पहिला घण्टौं प्रेमालाप गर्थ्यौं ।’

‘शरद, मलाई अहिले निकै फुर्सद कम छ । म अहिले आफ्नो अफिसको काममा निकै ब्यस्त छु । मैले बिदा पनि पाउँदिन । माफ गर्नुहोला, जिन्दगी लामो बाँकी छ, भोली छँदै छ नि ।’ यसो भन्दै उस्ले फोन काटी ।

त्यस्को एक हप्तासम्म शरदको फोन आएन । फेरि एक हप्तापछि शरदको फोन आयो । शरदले फेरि अनुरोध गर्यो ।

‘एन्जिला, म तिमीसँग भेटन चाहन्छु । यस्तो अटेरी नबन । मलाई थाहाँ छ हामीबीच त्यस्तो पूर्ववत सम्वन्ध केही छैन । हामी के साथीको नाताले भेटन सक्दैनौ ?’ शरदको प्रश्न थियो ।

‘अफिसमा बिदा पनि हुनुपर्यो नि, शरद । जीवन त्यति छोटो छैन । अझै हाम्रो जीवनमा हजारौं भोलि बाँकी छन् । कुनै न कुनै एउटा भोलिमा हामी अवश्य भेटनेछौ, चाहेर पनि नचाहेर पनि । म अहिले किनमेल गर्दैछु ।’ झर्को स्वरमा यति भन्दै एन्जिलाले फोन राखी ।

त्यसपछि हरेक हप्ता, शरदले फोन गरेर यस्तै प्रस्ताव राखि नै रह्यो । एन्जिलाले पनि झर्केको स्वरमा अस्विकार गरि नै रह्यो ।

शरदले यसरी नै हरेक हप्ताको अस्वीकार झेलेर पनि फोन गर्ने क्रम टुटाएन । अन्तिम पटकको लागि फोन गरेको बेलामा शरदले भनेको थियो, ‘अव अति भयो एन्जिला । न मेसेन्जर रिप्लाई गर्छौ । न कहिले एक फोन नै गर्छौ । न भाइवरकै कुनै जवाफ दिन्छौँ । कस्तो बुझ्दैनौ, एक कफी पिएर तिमीसँग केही अधुरा कुरा गर्नु छ ।’

‘के कुरा छ फोनमै भनन् ?’ एन्जिलाले फेरि झर्को स्वर नै बनाएर प्रश्न गरी ।

‘कतिपय कुरा फोनमा गर्नु उचित हुँदैन ।’ शरदले यति मात्र के बोलेको थियो, एन्जिलाले शरदको फोन काट्यो र तत्क्षणै अरु दुईपटक गरेको कललाई कठोर मन बनाएर रिसिप गरेन । कल नउठेपछि शरदले मोवाइलमा एउटा मेसेज पठायौ–तिमी एकदिन पछुताउने छौ एन्जिला ।

शरदको ‘तिमी एकदिन पछुताउने छौ एन्जिलाको मेसेज’ले उस्लाई विगततिर डोर्यायो । शरदसितको पहिलो भेट, दोस्रो भेट, तेस्रो भेटदेखि लिएर ऊसित गरिएका कैयन संवाद पनि सम्झयो । यसैक्रममा शरदसँग बिताएको सावनको कैयौं झरीले स्मृति रुझायो, छाताले ओगटेको सानो र सुखी परिधिदेखि लिएर छाताभित्रको एकाकारलाई पनि सम्झे । र अन्त्यमा, सम्झ्यो शरद र उस्को बीचमा आएको त्यो एउटा ठूलो सम्वन्धको दरार पनि । जव त्यो दरार सम्झयो, ऊभित्र एउटी अभिमानी स्त्री जागृत भयो र मनमनै भन्न थाल्यो, अव त म तिम्रो प्रेमिका होइन । बितेका दिन बित्यो, बित्यो, त्यस्लाई फेरि कफीमा किन तताउने ? चिसो भएको सम्वन्धलाई चिसै रहन देऊ न… ।

हप्ता हप्तामा शरदले कल गर्दा सँधै झर्किने एन्जिलालाई जव शरदको फोन तीन महिनासम्म ठप्प नै भयो फेरि मनले प्रश्न गर्न थाल्यो, किन फोन आएन ? यो सुन्यता अव के मृत्युसम्म नै यसरी नै तन्किएर जान्छ ? एन्जिलालाई औडाहा भयो । सँधै फोन गरेर उस्लाई दिक्क बनाउने शरदको फोन उस्ले आजभोलि मिस गर्न थाल्यो । एक, दुई र तीन हुँदै चार महिना बित्यो तर शरदको कुनै अत्तोपत्तो थिएन । फेरि आज आएर मायालु मनले सोची, दिलैदेखि दुखेर फेरि एकपटक यो मान्छे मेरो जीवनबाट टाढा भयो ।

शरदको वारेमा केही अत्तोपत्तो थिएन । फेसबुकबाट पनि रिटाएर भएर कतै गुमनाम बाँचेको जस्तो देखिन्थ्यो । फेसबुकको सर्चमा संसारभरिको शरद देखायो तर उस्को शरद कतै देखाएन । एन्जिलालाई आज आएर आफूले नै कल गरुँ जस्तो लाग्यो, तर अभिमान भित्र अझै बाँकी थियो । न उताबाट कल आयो न यताबाट गयो । मोवाइलको धर्म हो ‘टिनिनी’ बज्नु, त्यो आफनै रफ्तारमा बजिरहयो, तर कुनै पनि टिनिनीले शरदको ‘हेलो’ लिएर आएन ।

शरदको फोनको अनन्त प्रतिक्षाको घडीमा एकदिन उस्को जीवनको लामो सुन्यतालाई ‘टिनिनी’ले चिर्दै उस्को साथी रियाको फोन आयो । उस्ले ‘हेलो’ भन्यो । उताबाट हेलोको जवाफमा रियाले भनी, ‘सो सेड यार ।’

‘के भयो र ?’

‘शरद एक्पायर भयो नि यार । तिमीलाई थाहाँ छैन र ?’

‘अहँ ।’

‘कसरी ?’

‘लामो समयदेखि क्यान्सर रहेछ । केही थाहाँ भएन है साथीहरुलाई पनि । गुमनाम बाँच्थ्यो पहिलादेखि मर्दा पनि गुमनामै मर्यो ।’

रियाले हेलो, हेलो भनिरहेकै थियो, एन्जिलाले फोन काटिदिई । उस्का आँखाबाट आँसुको दोधाराले गालाको बाटा हुँदै चिउँदोको गन्तव्य पछयायो । मोवाइल अफ गरेर ओछयानमा घोप्टो परेर घण्टौं रोई । दुई महिना यसरी नै प्रायश्चितको आँसुले ओठ पखाल्यो तर निलो ओठमा सम्वेदना झन झन उर्लिन थाल्यो । शरदको फोटो हेर्दै एकदिन मनमनै बोली–मलाई माफ गर शरद । तिम्रो रिक्तताले मलाई यो पाठ सिकायो, जीवनमा भोलिको महत्व नबुझे जीवनभरि प्रायश्चित गर्नु पर्ने रहेछ । खेद, समयको खेल हेर, मसित भोली बाँकि नै छ, तिमीसँग छैन ।

निर्भय जो एन्जिलाको अहिलेको प्रेमी हो त्यो पनि एन्जिलाको यो मौनताले आजीत बन्दै गइरहेको थियो । हरेक पटक फोन गर्दा तपाईले ‘सम्पर्क गर्न खोज्नु भएको मोबाइल अफ गरिएको छ’ भन्ने हुनाले दुईबीचमा सम्वन्ध पनि चिसिँदै गइरहेको थियो । निर्भयले एन्जिलालाई आज भोलि तिमी फेरिँदै गइरहेकी छौ भनी दोष लगाउनसम्म थालेको थियो ।

सम्बन्धको मुना भाँचिनै लाग्दा अन्त्यमा सोची, अव शरदको लागि मात्र रोएर भएन । उस्को आफ्नो बर्तमान छ । असाध्यै माया गर्ने प्रेमी छ । एन्जिलाले अन्तिममा निधो गरी, सम्वन्ध जोगाउने नै हो भने निर्भयको सामु मौनता तोडेर स्पष्ट हुनुपर्छ ।

शरदको निम्ति अन्तिम आँसु निर्भयको अँगालोमा बगाउने मनसुवा लिएर, एन्जिलाले आफ्नो प्रेमी, निर्भयलाई अन्ततः उहीँ क्याफेमा बोलाई, जहाँ शरदले अन्तिम एक कप कफीको लागि एन्जिलालाई एक वर्ष प्रस्ताव गरेको थियो । निर्भय समयमै आयो । दुबै क्याफेको सोफामा वारीपारी बसे र वेटरलाई मिनु हेर्दै दुई कप कफीको अर्डर गरे । मिनेटको मौनतालाई चिरफार गर्दै, निर्भयको आँखामा पुलुक्क हेर्दै एन्जिलाले भनी, ‘निर्भय तिमीलाई आज म एउटा मेरो जीवनको सेक्रेट कुरा भन्छु माइण्ड नगर है ।’

निर्भयले भन्यो, ‘इटस ओके यार । भनन । के कुरा हो ?’

‘तिमी भन्दा पहिला म कोहीसित रिलेसनमा थिएँ ।’

‘को हो ?’

‘शरद । त्यौ नै मेरो पहिलो प्रेम र पहिलो चुम्वन हो ।’

‘कहाँ छ अहिले त्यो ?’ निर्भयले सुस्केरा फेर्दै, जिज्ञासु हुँदै सोध्यो ।

‘तीन महिनाअघि उस्को एक्पायर भयो ।’ एन्जिलाका आँखामा आँसु प्रतिविम्वित हुन थाल्यो ।

निर्भयको ‘कसरी’को प्रश्नलाई पछिल्लो सबै घटना र परिघटना सुनाइसकेपछि, क्याफेमा निर्भयसित कफी पिउँदा पिउँदै एन्जिलाले भावुक भएर सोधी, ‘तिमी पनि एउटा पुरुष हौ । पुरुषको सवेदना, पुरुषले जति म एउटी नारी भएर कमै जानुँली । तिमीलाई के लाग्छ निर्भय ? उस्ले किन मलाई भेटन सयौं पटक क्याफेमा बोलाएको होला ।’

निर्भय एकक्षण चुप लाग्यो । एन्जिलाको नजरबाट आफ्नो नजरको छुवाइ मेटदै बोल्यो, ‘ब्रेकअप भए पनि तिमीहरु बीच प्रेम बाँकी नै थियो । दुवैमा प्रेम भन्दा अभिमानको वजन अलि भारी थियो । शरदलाई जव आफ्नो मृत्यु ज्ञात भयो, अभिमान पग्लियो, तिम्रो मृत्यु अज्ञात थियो तिम्रो पग्लेन । कफी उस्को बहाना मात्र हो । ऊ यो संसारबाट सँधैका लागि जाने बेलामा तिमी सुखी छौ कि दुखी छौ हेर्न मात्र चाहन्थ्यो होला । तिम्रो अन्तिम दर्शनको आकांक्षा पनि हुनसक्छ । अझ तिम्रो अस्तित्वभरि उस्को स्मृति पनि बाँच्ने एउटा केही उपहार दिन खोजेको पनि हुन सक्थ्यो । क्यान्सरले कलेजो सवै कुटुकुटु खाइसकेको र आफ्ना रहर सवै गलिसकेको प्रेमीमा आफ्नी प्रेमिकाप्रति यो एउटावाहेक अरु के नै रहर होला र ?’

निर्भयको जवाफले उस्लाई असहाय बनायो । निर्भय बोलिरहेकै थियो तर एन्जिला आफ्नो कुर्सीबाट जुरुक्क उठी । ‘म गएँ भन्दै अरु केही नबोली सरासर गई ।

निर्भय ठूलो स्वरमा चिच्यायो, ‘यो के पारा हो, एन्जिला ? कफी पूरै पिएर जानु न ।’

उस्ले निर्भयलाई सुन्नै चाहेन । जे होस् उस्लाई कोठामा पुग्नु थियो र अविरल आँसु बगाएर सारा पीडा पखाल्नु थियो । ऊ दौडियो र कोठामा पुगेर फेरि मोवाइल अफ गरेर रातभरि रोई ।

तीनचार दिन आँखा पखाले, फेरि निर्भयको याद आयो र ऊसित गरेको नराम्रो व्यवहार सम्झेर ग्लानी महसुस गरी । निर्भयलाई फोन गरी । एक हप्तासम्म फोनै उठाएन । बल्ल एक हप्तापछि फोन उठायो ।

एन्जिलाले सोधी, ‘हेलो निर्भय, के छ ? मलाइ माफ गर निर्भय । जे बित्यो, बित्यो, म तिमीसित फेरि त्यही आत्मियता र सम्वन्धको निरन्तरता चाहान्छु ।’

‘तिम्रो पहिलो प्रश्नको लागि मेरो जवाफ, ठीक छ । तर तिम्रो जो प्रस्ताव छ सम्वन्धको निरन्तरताको म त्यस्को पक्षमा छैन ।’ निर्भयले झर्को स्वर बनाएर जवाफ दियो ।

निर्भयको जवाफलाई अझै ठट्टा नै मानेर, पहिलेकै आत्मीय भाव चोरेर घुर्कीको भावमा बोली, ‘मसित अहिले भेट तिमी ।’

निर्भयले स्वरमा अझै गाम्भीर्यता ल्याएर बोल्यो, ‘सोच्नु कि मैले तिमीलाई भेटे पनि ब्रेकअप दिइसकेँ, जस्ट फै्रन्डको रुपमा मात्र आउँछु । आज म अलि बिजी छु । भोलि है एन्जिला, त्यो पनि निश्चय छैन ।’ निर्भयले यति भन्दै फोन काटिदियो ।

भोलि पर्खियो, निर्भय आएन । फेरि अर्को भोलि कुर्यो, निर्भय आएन । प्रतिक्षाको कुनै पनि भोलिमा निर्भय आएन ।

आज एन्जिला कहिले धर्तीलाई टाढा टाढासम्म हेर्थी र कहिले आकासलाई गाढा गाढा हेर्थी न धर्तीबाट निर्भयले सुसायो न आकासबाट शरदले बोलायो । यो कठिन अवस्थामा भने उस्ले आँखाका आँसु भोलि बगाउँछु भनेर साँच्न सकिरहेकी छैन । ऊ प्रायजसो मौन नै बस्थी र बोल्थ्यो त एउटै प्रश्न गर्न थालेकी थिई, भोलिको दोष कि मेरो ? उस्को एक मात्र र अन्तिम प्रश्नको प्रत्युत्तर दिने पनि त्यो सुन्यतामा कोही थिएन ।