समाचार

बाँस्कोटाको बचाउमा प्रधानमन्त्री-'बात लागेका हो,आरोप पुष्टि छैन'

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बास्कोटाको टेप प्रकरणबारे मुख खोलेका छन्। क्युरिटी खरिद प्रकरणमा कमिशनको अडियो टेप सार्वजनिक भएपछि राजीनामा दिन बाध्य भएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको बचाउ गरेका हुन् ।

बिहीबार पार्टीको बागमती स्तरीय प्रशिक्षण कार्यक्रममा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बाँस्कोटमाथि मुद्दा नलागेको भन्दै भ्रष्टाचार प्रमाण भए जसरी प्रचार गरिएको आरोप लगाए। प्रधानमन्त्री ओलीले आफू र बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीलाई पनि ‘पत्रु’ को संज्ञा दिए।

‘अहिलेसम्म टेप प्रकरण प्रमाणित छैन, उहाँ (बाँस्कोटा)ले होइन भनिरहनु भएको छ। स्वीस राजदूतावासले फ्रड हो भन्यो। आफ्नो नाममा बात लागेकाले राजीनामा दिनुभो, भ्रष्टाचार प्रमाणित भएजसरी प्रचार गर्नु आवश्यक छैन,’ ओलीले भने, ‘आरोप पुष्टि छैन। काम नलाग्ने पत्रु उजुरिको के काम। त्यो भ्रष्ट उजुरी हो।’’

बास्कोटा स्वंयमले अडियो आफ्नो नभएको र न्याय खोज्छु भनेको उनले बताए। भ्रष्टाचार भए नभएको छानबिन हुने उनको भनाई छ।

उनले नेताचहरुले चरित्र हत्या गर्ने काम भएकोसमेत आरोप लगाए। उनले कम्युनिष्ट आन्दोलनविरुद्ध षडयन्त्र भइरहेको भन्दै बाँस्कोटा सोही षडयन्त्रको शिकार भएको दावी गरे। तर कसले षडयन्त्र गरेको हो भन्नेबारे भने प्रधानमन्त्री ओलीले केही बताएनन्।