फिचर

बास्कोटा गए अदालत, मिश्रविरुद्ध गाली बेइज्यती मुद्दा

काठमाडौं । कमिसनका लागि मोलमलाई गरेको भिडियो सार्वजनिक गरिदिने विजयप्रकाश मिश्र विरुद्ध पूर्वसूचना तथा संचार प्रविधिमन्त्री गोकुल बास्कोटा अदालत पुगेका छन् ।

कमिसनका लागि मोलमलाई गरेको अडियो सार्वजनिक भएपछि मन्त्री पदबाट उनले राजीनामा गरेका थिए ।

बास्कोटाले मिश्रविरुद्ध जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् ।

अडियो सार्वजनिक गरि आफ्नो चरित्र हत्या गरेको भन्दै उनले गाली बेइज्जती मुद्दा दायर गरेको सामाजिक संजालबाट सार्वजनिक गरेका छन् ।

वारिसमार्फत अदालतमा उनले फिराद पत्र दर्ता गरेका छन् । जसमा उनले कमिसनको प्रस्ताव आएको भने स्वीकार गरेका छन् ।

तर, आफूले कुनै पनि लेनदेनका लागि मोलमोलाई नगरेको उनको दावि रहेको छ । उनले यसरी आएको प्रस्तावलाई नाजायज कमिसनको प्रस्तावको संज्ञासमेत दिएका छन् ।

उनले विजयप्रकाश मिश्रले झुठा प्रमाण सिर्जना गरी आपूसँग भएको भनिएको कथित अडियो टेप ७ फागुनमा विद्युतीय तथा सार्वजनिक सञ्चार माध्यममा प्रसारण गराई बेइज्जत गर्ने कार्य गरेको आरोप लगाएका छन् ।

फरक परिस्थिति र विभिन्न सन्दर्भमा बोलेका कुरालाई आधुनिक प्रविधिको दुरुपयोग गरी बदनाम गराउने उद्धेश्यले व्यक्तिगत चरित्र, आचरण, नैतिकता र ख्यातीलाई होच्याउने काम गरेको समेत उनले आरोप लगाएका छन् ।

सुरक्षण मुद्रण सम्बन्धी जानकारी दिने भन्दै विजयप्रकाश मिश्रले आफूलाई भेटेको र उनले भेटमा केबीए–नोटासिस एसए (स्वीटजरल्याण्ड)को नेपाल प्रतिनिधिका रुपमा परिचय गराएको समेत स्वीकार गरेका छन् ।

उनले मिश्रद्वारा सिर्जित कथित अडियो टेपमा कुनै सत्यता नभएको र रकम लेनदेन गर्ने हिसाबले कसैसँग कुरा नगरेको समेत बताएका छन् ।