स्वास्थ्य

उपत्यकाका ढुंगेधारा र पोखरी संरक्षण गर्न सम्झौता, फेरिएला युग ?

काठमाडौं । काठमाडौं उपत्यकाका ढुंगेधारा र पोखरीको संरक्षण गर्ने सन्दर्भमा स्थानीय तह र केन्द्र सरकारबीच सम्झौता भएको छ ।

यस्ता सम्पदाको संरक्षण गर्न काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड), मध्यपुर थिमी र ललितपुरस्थित महालक्ष्मी नगरपालिकाबीच सम्झौता भएको छ ।

खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा मध्यपुर थिमीका नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र भ्याली बोर्डका कार्यकारी निर्देशक डा. संजिव विक्रम राणाबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

मध्यपुर थिमी र महालक्ष्मी नगरपालिकाभित्र रहेका ढुंगेधारा तथा पोखरी संरक्षण र पुनर्निर्माण गर्ने सम्झौता भएको हो ।

पछिल्ला दिनमा तिब्र निर्माणका कारण काठमाडौं उपत्यका भित्रका सम्पदा नष्ट हुँदै गएका छन् । ढुंगेधारा समेत लोप हुने अवस्थामा पुगिसकेका छन् ।

भएका ढुंगेधाराको पनि उचित संरक्षण हुने सकेको छैन । बोर्डले उपत्यकाभित्र १० वटा नगरपालिकाहरुमा रहेका ढुंगेधारा र पोखरीहरुको अवस्थाबारे अध्ययन गरी संरक्षण गर्न सबै नगरपालिकासँग समझदारी गर्ने भएको छ ।

सोही क्रममा पहिलो चरणमा यी दुई नगरपालिकासँग समझदारी भएको कार्यक्रममा बताइयो ।

कार्यक्रममा खानेपानी मन्त्री मगरले उपत्यकाभित्रका सबै ताल तलैया पोखरी र ढुंगेधाराहरुको संरक्षण र सौन्दर्यीकरण हुने उल्लेख गरिन् ।

प्राचीन शैली र कला कौशलमा निर्माण भएका ढुंगेधारा तथा पोखरीहरुको संरक्षण गर्दै जाने सरकारको योजना रहेको उनको भनाई छ ।

बोर्डले काठमाडौं उपत्यका भित्रका महानगर सहित १० वटै नगरपालिका भित्र अवस्थित ५ सय ७३ ढुंगेधारा र २ सय ७३ पोखरीको विस्तृत अध्ययन र नक्सांकन गरिसकेको बताएको छ ।

जसमध्ये ४ सय ७९ वटा ढुंगेधारा स्थलगत रुपमा भेटिएका छन् । ९४ वटा ढुंगेधारा हराइसकेका छन् । १ सय ९३ वटा पोखरी स्थलगत रुपमा भेटिएका छन् । ४० वटा पोखरी भने हराएका बोर्डको तथ्यांकमा उल्लेख छ ।