कला / साहित्य

देशव्यापी राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न, पहिलो भएका पोखरेललाई ५१ हजार प्रदान

फागुन १६, काठमाडौं

            गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको देशव्यापी राष्ट्रिय कविता प्रतियोगितामा जगदीश्वर पोखरेल पहिलो भएका छन् । शुक्रवार गोकणेश्वर नगरपालिकाको आरुबारी चोकमा सम्पन्न प्रतियोगितामा पहिलो घोषित भएका पोखरेलले नगद ५१ हजार र प्रमाणपत्र प्राप्त गरे । दोस्रो भएका दिनेश विक्रम थापाले नगद ३१ हजार पाए भने तेस्रो स्थान हासिल गरेका पदम दाहालले नगद २१ हजार पाए । सान्त्वना पुरस्कार बापत् याज्ञबल्क्य न्यौपाने र डाक्टर सत्यराज थपलियाले १०–१० हजार प्राप्त गरे । विजयी कविहरुलाई शताब्दी पुरुष सत्यमोहन जोशीले पुरस्कृत गर्नुभयो । 

             त्यस्तै प्रदेशतर्फ एक नम्बरबाट जीवन आरोही, खोलाघरे साइँलो र गणेशप्रसाद खतिवडा उत्कृष्ट भएका छन् । दुई नम्बर प्रदेशका  सम्पतकुमार काफ्ले उत्कृष्ट भए । तीन नम्बर प्रदेश (वागमती) मा शम्भुप्रसाद गजुरेल, दीपक सापकोटा र मुकुन्द शर्मा चालिसे उत्कृष्ट घोषित भए । चार नम्बर प्रदेशबाट संयोग बस्याल, राजकुमार देवकोटा र गंगा आचार्य सापकोटालाई उत्कृष्ट घोषित गरियो । पाँच नम्बरबाट कर्मसही घर्ती मगर, सुमन थापा र आरबी निश्चल उत्कृष्ट भए । त्यस्तै ६ नम्बर प्रदेश (कर्णाली) बाट सिर्जना शर्मा, उमेश पुन एटम र नगेन्द्रप्रसाद आचार्य उत्कृष्ट भए । ७ नम्बरबाट हिरा भट्ट, मोहित जोशी र केशवराज भट्ट सागर उत्कृष्ट घोषित भए । प्रदेशमा उत्कृष्ट भएका सबै कवि–कवियत्रीहरुलाई जनही ५ हजार र प्रमाणपत्र प्रदान गरियो । 

             यसअघि शुक्रवार विहान देशव्यापी राष्ट्रिय कविता प्रतियोगितात्मक महोत्सवको शुक्रवार उद्घाटन गर्दै  संस्कृति पर्यटन तथा नागरिक उड््डयनमन्त्री योगेश भट्टराईले साहित्य सिर्जना मार्फत् सामाजिक तथा राष्ट्रिय एकतालाई अझ बलियो बनाउनु पर्ने धारणा राख्नु भएको छ । मन्त्री भट्टराईले सबै खालका नकारात्मक पाटोलाई चिर्ने सशक्त औजार साहित्य भएको बताउनुभयो । “अन्धकारमा रुमल्निे साहित्यको अबको समयमा कुनै अर्थ छैन” मन्त्री भट्टराईले भन्नुभयो । बेग्लै प्रसंगमा मन्त्री भट्टराईले देशले राजनीतिक निकास पाएको वर्तमान अवस्थामा आर्थिक विकास सबैको साझा एजेण्डा हुनुपर्ने बताउनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराउँदै मन्त्री भट्टराईले मुलुक समृद्धितर्फ अघि बढिरहेको दाबी गर्नुभयो । वागमती प्रदेशका भौतिक, पूर्वाधार मन्त्री रामेश्वर फुयालले साहित्यलाई पनि उत्पादनको क्षेत्र बनाउनु पर्ने धारणा राख्नुभयो । प्रतिनिधि सभा सदस्य कृष्ण राईले साहित्य मार्फत् नै चेतनाको स्तरवृद्धि हुने बताउनुभयो । गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले नगरपालिकामा चाँडै नगर प्रज्ञा परिषद् गठन गरिने जानकारी गराउनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले नेपाली साहित्यको स्तरवृद्धिका लागि प्रतिष्ठान क्रियाशील रहेबो बताउनुभयो । प्राज्ञ डाक्टर देवी नेपालले स्थानीय तहकै आयोजनामा देशव्यापी राष्ट्रिय कविता प्रतियोगितात्मक महोत्सव हुनु गौरवको विषय भएको बताउनुभयो । महोत्सवको सहआयोजक ग्राम निर्माण बन्धु मण्डल क्लबका अध्यक्ष तथा नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसालले आगामी दिनमा पनि क्लबले साहित्यिक गतिविधिलाई उच्च प्राथमिकता दिने बताउनुभयो । वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेले साहित्यको उपेक्षा भएमा समाज समृद्ध हुन नसक्ने विचार व्यक्त गर्नुभयो । महोत्सव संयोजक तथा वरिष्ठ साहित्यकार गोविन्द घिमिरे वेदमणिले  गोकर्णेश्वर नगरपालिकालाई साहित्यको उद्गम क्षेत्रको रुपमा परिचित गराउन प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो । नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विजय आचार्य, गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष राजीव थापा लगायते महोत्सवको औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।