समाचार

भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्स र श्रीलंका भ्रमणमा निस्कदै

दोस्रो कार्यकालको पहिलो विदेश भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिवार माल्दिभ्स प्रस्थान गर्ने भएका छन् ।

जुन ८ मा माल्दिभ्स पुग्ने उनले सोही दिन माल्दिभ्सको संसदमा सम्बोधन गर्ने कार्यक्रम तय भएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

माल्दिभ्सपछि मोदी श्रीलङ्का पुग्नेछन् । श्रीलंकामा उनको एकदिवसीय भ्रमण तय भएको हो । प्रधानमन्त्री मोदी माल्दिभ्सबाट शनिबार नै श्रीलङ्का गएर आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।

सन् २०११ पछि पहिलो पटक भारतीय प्रधानमन्त्री माल्दिभ्स जान लागेका हुन् । श्रीलंकामा रहँदा भने गत अप्रिलमा बम बिस्फोटमा परी ज्यान गुमाउनेप्रति उनले श्रद्धान्जली व्यक्त गर्नेछन् ।

उक्त दुखको क्षणमा भारत श्रीलंकासँगै रहेको सन्देश दिने उद्देश्यले प्रधानमन्त्रीको भ्रमण हुन लागेको भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ ।
एजेन्सी