फिचर

सेन्ससमा सबैलाई सहभागी हुन अधिकारको आग्रह

कल्पना घिमिरे
न्यूयोर्क/अमेरिका
नेपाली समुदायको हकहितमा कार्यरत सामाजिक संस्था अधिकारले ११० औं अन्तराष्ट्रिय नारी दिवस मनाएको छ । अधिकारले आफ्नो १५ औं बार्षिकोत्सबका अवसरमा शनिबार ज्याक्सन हाइटस्थित पी एस ६९ स्कुलमा नेपाली समुदायको बाक्लो उपस्थितिका बिच नारी दिवस मनाएको हो । ‘सबैको सरोकार, सबै समान’ भन्ने नाराका साथ मनाइएको दिवसमा यसपाली अमेरिकी जनगणना(सेन्सस २०२०)मा सबैलाई सहभागी हुन बिषेश आग्रह गरिएको छ ।
बौद्धधर्मावलम्बीहरुको महान चाड ल्होछार मनाइरहेको अवसरमा अधिकारले सम्पूर्ण नेपाली समुदायप्रति ल्होछारको शुभकामना ब्यक्त गरेको थियो । अधिकारकी कार्यकारी निर्देशक पबित्रा बेन्जामिनले यसपालीको जनगणनामा सम्पूर्ण नेपाली समुदायलाई सहभागी हुन कोही पनि नछुट्न आग्रह गरेकी छिन् ।

अधिकारकी कार्यक्रम निर्देशक नर्बदा क्षेत्रीले अधिकारले अमेरिकामा बसोवास गरिरहेका हजार भन्दा बढि आप्रवासी कामदारलाई विभिन्न तालिम उपलब्ध गराएको जानकारी गराएकी थिइन् । कर्नेल युनिभर्सिटीसंग सहकार्य गर्दै न्यानी तालिम, सीपीआर तालिम, हेल्थ केयर, हेल्थ ईन्सुरेन्स सेवा उपलब्ध गराउँदै आप्रवासीहरुलाई आफ्नो हकहितबारे जानकारी दिने बिभिन्न तालिमहरु संचालन गर्दै आएको बताइन् ।
कार्यक्रममा अमेरिकामा रहेको नेपालीभाषी समुदायलाई निःशुल्क कानूनी सेवा उपलब्ध गराउँदै आएको, अंग्रेजी भाषा कक्षाहरु संचालन गरिरहेको, कामदारलाई संचालकले ज्याला नदिएको अवस्थामा कानूनी लडाई लडेर २३ कामदारलाई २,८५,००० अमेरिकी डलर ज्याला उपलब्ध गराइदिएको लगायत अधिकारले कार्यसम्पादन गरिरहेको जानकारी गराइएको थियो ।
अमेरिकामा नेपाली समुदायको पहिचान, अस्तित्व र सेवा सुबिधाका लागि जनगणनामा आफ्नो समुदायको संख्या र शक्ति देखाउन सके राज्यबाट पाउने सेवा सुबिधा सजिलै उपलब्ध गराउन सकिने भएकाले अमेरिकी जनगणनामा भाग लिनु आवश्यक छ । अधिकारले यसपालीको जनगणनाका लागि सक्रिय भएर काम गर्दै आएको छ ।
न्यूयोर्क सिटी अन्तरगत क्विन्स बोरोका कार्यवाहक प्रेसिडेन्ट स्यारोन लीले कार्यक्रमको उद्घाटन गर्दै नेपाली समुदायको हकहितका निम्ति छोटो समयमा नै केही गरेर देखाउने प्रतिवद्धता ब्यक्त गरे । कागजपत्र नभएकाहरु अझैपनि बोल्न, अधिकारका लागि लड्न डराउँने बताउँदै अझै पनि बिभिन्न जातजाती धर्म बिच विभेदकारी राजनैतिक वातावरण विधमान रहेकोले यसलाई परिवर्तन गर्नका लागि आफ्नो कुरा खुलेर राख्न र हकहितको निम्ति लड्न प्रोत्साह गरे । ‘हामीले हाम्रो महत्व दर्शाउन, हाम्रो संख्या र सक्रियता देखाउन जनगणनामा आफ्नो नाम बिबरण दर्ता गर्न जरुरी छ’ उनले भने ।


न्यूयोर्क स्टेट ३९ डिस्ट्रिक्टकी एसेम्बली मेम्बर क्याटलिना क्रुजले नेल सलुनमा काम गर्ने कामदारका लागि न्यूयोर्क स्टेटले ‘नेल सलुन एकाउन्टीबिलिटी एक्ट’ ल्याउन लागेको अवस्थामा नेपाली समुदायले आफ्नो शक्ति र संख्या देखाउँदै दबाब सिर्जना गर्नका लागि न्यूयोर्कको राजधानी अल्बानी जानु पर्ने बताइन् । अधिकारले नेल सलुन कामदारको हकहित र राम्रो पारिश्रमिकको लागि लड्दै आएको छ । न्यूयोर्कमा नेल सलुन कामदारको न्यूनतम ज्यालादर प्रति घण्टा १५ डलर बनाउन सफल भएको छ ।
कार्यक्रममा न्यूयोर्क सिटी २५ डिस्ट्रिक्ट काउन्सिलम्यान डानियल ड्रोम, न्यूयोर्कबाट कांग्रेसवुमन अलेक्सान्द्रीया ओकासियो कोर्टेज, कांग्रेसवुमन ग्रेस मेङ, सेन्ससका डेपुटी डाइरेक्टर अमित भागा, डिपाटमेन्ट अफ कन्जुमर अफेयर्सका कमिस्र्नर लोरेलइ सलास सहभागी भएका थिए ।
कार्यक्रममा न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका वाणिज्यदूत गणेशप्रसाद अधिकारीले अमेरिकी जनगणनामा आफ्नो नाम विवरण दर्ता गर्न सबैलाई आग्रह गरेका थिए ।