स्वास्थ्य

रक्तदान नै गर्न न्यूयोर्कबाट बाजुरा जाँदैछु

अर्जुनप्रसाद मैनाली / विश्व रक्तदाता

अफ्रिकाको केन्यामा आम जनमानसको मन छुने गरी रक्तदान उत्प्रेरणा जगाउन सकेकोमा मलाई बधाईको ओईरो लागिरहेको थियो । यसै बीच क्यामरुनको रक्तसन्चारका अधिकारी एस्टेल टन्टेले ‘तपाईंले विश्वब्यापी रुपमा रक्तदान उत्प्रेरणा सफल रुपमा र प्रभाबकारी तरिकाले गर्दै आउनु भएको छ, हाम्रो देशमा स्वयमसेवी रक्तदान १० प्रतिशत भन्दा पनि कम छ, यहाँ पनि रक्तदान उत्प्रेरणाका काम गरौं’ भन्ने व्यहोराको प्रस्ताव प्राप्त भयो । क्यामरुनमा रक्तदान उत्प्रेरणा गराउन म गृहकार्य गर्दै थिएँ । 

एक्कासी नेपालको सुदुरपश्चिम भागको बाजुरामा सुत्केरी महिलाले अत्यधिक रक्तश्राव भै जीवन गुमाउदै गरेको ‘रक्तस्राव अभिशाप” बिषयमा छापिएको समाचार पढ्न पुगें । त्यस क्षेत्रमा बिरामीहरुले सजिलै रगत पाउन सक्दैनन भन्ने कुरा मलाई पहिल्यैदेखि लागेको थियो । रक्तदान उत्प्रेरणाको सानो प्रयास र सहयोग गरेकै पनि थिएँ । लगातार वरपरका अरु पाँच सात जिल्लामा पनि त्यस्तै अवस्था रहेको अरु समाचार आउन थाले । यस्ता कुराले मेरो मन झन दुख्यो । मलाई रातभरी निन्द्रा पर्दै परेन । म बेचैन भएँ ।

संसारभरी आफ्नै रगत दिएर बिरामी बचाउने प्रयास गरिरहँदा आफ्नै देशको सुदुरपश्चिममा गर्भवती तथा सुत्केरी महिला बचाउन केही गर्नु पर्छ भन्ने लाग्यो । त्यसैले रक्तदान नै गर्न भनेर न्यूयोर्कदेखि करिब चौतिस पैतिस घण्टा लगाएर बाजुरा गएर रगत दान गर्ने योजना तय गरें । मैले यति टाढाबाट गएर रगत दिएपछि त्यहाँका युवायुवतीहरुमा पनि पक्कै रगत दिउँ दिउँ हुनेछ, भन्ने लागेको छ । बाजुरामा करिब १ लाख पचास हजार जति जनसंख्या छ । विश्व स्वास्थ्य संगठनले जम्मा जनसंख्याको कम्तिमा १ प्रतिशतले रक्तदान गरेमा मात्र त्यस क्षेत्रका बिरामी बचाउन पर्याप्त हुन्छ, भनेको छ । यस हिसाबले बाजुरामा बर्षको १ हजार ५०० पोका रक्तदान हुन आवश्यक छ । सुदुरपश्चिममा वार्षिक २५ हजार पोका रगत दान हुन सक्दछ । तर त्यस्तो अवस्था छैन । त्यसैले त्यहाँ गएर आँफैले रगत दिएर एक जना भए पनि बचाउ, केही रक्तदाता तयार पारौं, केही रक्तदाता उत्प्रेरक तयार पारौं भन्ने लाग्यो । यो अभियान सफल बनाउन मैले योजना पनि तय गरेको छु । १, म स्वयमले उपस्थित जनमानसको बीचमा रक्तदान गर्ने । २, उपस्थित समुदायमा रक्तदान उत्प्रेरणा गर्ने । ३, ती क्षेत्रका रक्तदाताहरुलाई सङठित बनाउने । ४, हाइ सकुलका विद्यार्थी बीच बक्तृत्वकला प्रतियोगिता, निबन्ध प्रतियोगिता मार्फत म भबिष्यमा रक्तदान गर्न प्रयास गर्नेछु, भन्ने मनोभावना जगाउने । यति गर्नसके तीन चार बर्षपछि यीनै हाइस्कुलका भाई बहिनीहरु रक्तदाता बन्नेछन भन्ने विश्वाश लिएको छु ।

यस कार्यमा म केही बर्ष निरन्तरत लागिरहने छु । यस कार्यक्रमलाई केही आर्थिक सहयोग जुटाउने उद्देश्यले सामाजिक सन्जालमा ‘सुदुरपश्चिममा रगत नपाएर दिनहुँ बिरामीले जीवन गुमाउनु परेको छ’ लेख्दै अत्याधिक रक्तश्राव भएकी महिलालाई स्ट्रेचरमा बोकेर अस्पताल लग्दै गरेको फोटो राखेँ । अनी ‘न्यूयोर्कका एक जनाले सुदुरपश्चिममा रक्तदान उत्प्रेरणा कार्यक्रममा आर्थिक सहयोग गर्न इच्छा राखेका छन’ लेखें । धनगढीका एकजना रक्तदाताले ‘अर्जुन सरले गर्न लाग्नु भएको अभियान अतिनै उपयोगी साबित होस ! शुभकामना पनि छ । तर उहाँले भने जस्तो सुदुरपश्चिममा रगत नपाएर दिनहुँ मान्छे चाँहिँ मर्नु परेको छैन, अभियान गर्दा भुगोल र यहाँको बस्तुस्थिती बुझ्न उहाँलाइ अनुरोध समेत गर्दछु ।’ लेखेछन् । सोचें… ‘मलाई साच्चिकै बस्तुस्थिती थाहा नभएकै हो त?’ प्रत्यक्ष नचिनेको ब्यक्तिसँग धेरै कुरा गर्नु हुँदैन भन्ने मनमा आयो, ‘हस । मैले आफुलाई सुधारेँ हजुर’ लेखेँ । बाजुरा क्षेत्रको भौगोलिक र स्वास्थ्य अवस्था बारे जानकार एकजनाले मैले लेखेकै तलतिर, ‘तपाइले सुधार पर्ने कुरै छैन, तपाईंले जे गर्नु भएको छ ठीक गर्नु भएको छ । बाजुराको अवस्था बुझेर गर्नु भएको छ, भदौ यता बाजुरामा ५ जना सुत्केरीको मृत्‍यु भएको छ, जसमा धेरैको अत्याधिक रक्तश्राव भएर मृत्‍यु भएको थियो, आफन्तलाई त रगत दिन मान्दैनन चेतना दिन जरुरी छ’ लेखेछन । त्यसपछि, ‘मैले ठिकै गरेको रहेछु’ लाग्यो । यो कुरा एन आर एन संस्थालाई पनि भनेँ । एन आर एन संस्थाले पनि एक लाख रुपैया सहयोग गर्छु भनेको छ, निबन्ध प्रतियोगिता गर्न लाग्ने करीब चार लाख रुपैयाँ पनि एन आर एनबाटै जुट्ने आशा राखेको छु । यही मार्च १७ मा बक्तृत्वकला प्रतियोगिता र रक्तदान उत्प्रेरणा कार्यक्रमको लागि बढीमालिका गाउँ पालिकाले कार्यक्रमनै बनाउँदै छ । सुदुर पश्चिम प्रदेश रेडक्रसले पनि साथ दिने भएको छ । त्यस क्षेत्रका सम्पूर्ण जनताले पनि साथ दिनु पर्छ ।

 नेपालमा रक्तदान गर्न जाने योजना बनाउँदै गर्दा न्यूयोर्कका नेपाली समुदायका चारवटा रक्तदान कार्यक्रमहरुलाई सघाएँ ।

 

यसैबीच चाइनाको वुहानमा कोरोनाभाइरस देखियो । विश्वका तिसभन्दा बढी देशमा लाखौँजना कोरोनाभाइरसबाट संक्रमित भै सकेका छन । हजारौँ जनाले जीवन गुमाइ सकेका छन । यो रोग अझै बढ्दै जाने र धेरैजना मर्नेमा पक्का छ । मैले काम गर्ने कार्यालयका साथीहरुले यस्तो बेलामा अर्को देशमा यात्राा नगर्न सुझाएका छन । तर म नेपालको बाजुरामा गएर रक्तदान गर्न एकोहोरो भै सकेको छु । जे सुकै होस, जान्छु जान्छु भन्ने अठोट लिइसकेको छु । यो मेरो जीवनकै भयंकर जोखिम हो । अझ कार्यालयका साथीहरुले तिम्रो कारणले गर्दा हामी बिरामी हुन चाहँदैनौ, मर्न चाहँदैनौ भनेका छन । अझ दुई जनाले त म नेपाल जाने मिति भन्दा अगाडि बिदा लिन तय गरी सकेका पनि म फर्केको दिनदेखि लागू हुनेगरी दुई हप्ताको छुट्टीको लागि निबेदन गरेका छन । केही देशमा जानआउन ठप्प छ । जनताहरु आतंकित छन ।

 नेपाली महाबाणिज्य दुतावास न्यूयोर्कले नेपाली समुदायमा नेपालमा पर्यटनलाई प्रबर्द्धन गर्ने उद्देश्यले एउटा बैठक बोलाएको थियो । मिटिङ सुरु हुनुभन्दा अगाडि उपस्थित हुनुहुनेहरुले मलाई, ‘तपाइले राम्रो काम गरी राख्नु भएको छ’ भने । तर सहयोग गर्न कसैले पनि सक्नु भएन । रक्तदान उत्प्रेरणा कार्यक्रमको लागि मलाई एकदमै सहयोग चाहिएको थियो । तैपनि पर्यटन प्रबर्द्धन गर्न प्याभलिएन बनाउन मैले २०० डलर सहयोग गरेँ । आफुसँग भएका पैसा, केटाकेटीका खुत्रुके फुटाएर पाएका पैसा एकठाउँमा भेला पारी नेपाल जाने दिन मार्च १३, २०२० लाई पर्खि रहेको छु । कोरोनाभाइरसको संक्रमण अझै नफैलियोस भन्ने प्रार्थना छ ।