स्वास्थ्य

विभिन्न दुर्घटनामा कम्तिमा आधा दर्जनको ज्यान गयो

काठमाडौं । बुधबार देशभर सडक दुर्घटनाका खबर आए । दुर्घटनामा परी आधा दर्जनको ज्यान गएको छ भने दर्जनौं मानिस घाइते भएका छन् । सुर्खेतको गल्छेनामा बुधबार जीप दुर्घटना भयो ।

यस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । प्रहरीका अनुसार बाँकेको वैजनाथ गाउँपालिका–३ का ४२ वर्षीय खड्गबहादुर बीसी, उनकी ३९ वर्षीया श्रीमती गोमा बीसी र सुर्खेत घर भएका ५० वर्षीय देबबहादुर खड्काको ज्यान गएको हो ।

दैलेखको धरमपोखराबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जीप वीरेनद्रनगर नगरपालिका–१५ राउटे गल्छेनामा दुर्घटनामा परेको थियो ।

जीप सडकबाट ४ सय मिटर तल खसेको थियो ।

सिराहामा दुई वटा मोटरसाइकल ठक्कर खादा सडक दुर्घटना भएको छ । सडकमा पछारिएका युवकलाई बसले किचेको थियो । यस घटनामा एक जनाको ज्यान गएको छ ।

पूर्वपश्चिम् राजमार्ग अन्तर्गत गोलबजार,४ स्थित सडक खण्डमा दुर्घटना भएको हो ।

पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को.३३ प. २०९८ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ३१ प ५८८३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएका थिए ।

दुईवटा मोटरसाइकल ठक्कर खाएपछि सडकमा पछारिएका युवाई पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ४ ख ४२६५ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको थियो ।

दुर्घटनामा को ३३ प २०९८ नम्बरको मोटरसाइकल चालक सिरहा, लहान नगरपालिका १९ का २६ वर्षिय मोहमद लुतफुर रहमानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका, १४ का २६ वर्षिय आरजु राई घाइते भएकी छन् ।

विराटनगर– १९ मिलनचोकमा मंगलबार राती टिपरको ठक्करबाट एकै परिवारका दुई जनाको ज्यान गएको छ ।

मंगलबार राति विराटनगर– १९ मिलनचोकमा आफन्तको विवाहमा सहभागी भएर घर फर्कदै गरेका बाबुराम सरदार र उनकी ६ वर्षकी नातिनी आरोही सरदार रहेको अटोमा टिपरले ठक्कर दिएको थियो ।

विराटनगरको घिनाघाट– विराटचोक सडक खण्डको मिलनचोकमा को १ ख २९१७ नम्बरको टिपरले मिलचोकबाट झोराहाट तर्फ जाँदै गरेको प्रदेश १–००२ ह ८६०६ नम्बरको अटोलाई ठक्कर दिँदा चालक बाबुराम र नातिनी आरोहीको ज्यान गएको हो ।

उनीहरुको ज्यान गएपछि आक्रोशित स्थानीयले मंगलबार राति टिपरमा आगजनी गरी सडक अवरुद्ध गरेका थिए ।