फिचर

अधिक बालविवाह हुने मुलुकको टप टेन सूचिमा नेपाल

काठमाडौं । बालविवाह धेरै हुने देशको टप टेन सूचिमा नेपाल समेत परेको छ । संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)ले शुक्रबार जारी गरेको विज्ञप्ती अनुसार बालविवाह धेरै हुने मुलुकमध्ये नेपाल विश्व कै शीर्ष दश भित्र पर्छ ।

युनिसेफका अनुसार नेपालमा २० देखि २४ वर्षका १० पुरुषमध्ये एक जनाको बाल्यावस्थामै विवाह भएको हुन्छ । यूनिसेफले विश्वका ८२ मुलुकको तथ्यांक विश्लेषण गरी प्रतिवेदन बनाएको बताएको छ ।

उक्त अध्ययन अनुसार बालविवाह अफ्रिकी मुलुकमा अधिक हुन्छ । अफ्रिकाको उपसहारा क्षेत्र, ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्र, पूर्वी एसिया, प्रशान्त क्षेत्र र दक्षिण एसियाी मुलुकमा बालविवाह अधिक रहेको यूनिसेफद्धारा वक्तव्यमा उल्लेख गरिएको छ ।

यूनिसेफका अनुसार मध्य अफ्रिकी गणतन्त्रमा सबैभन्दा धेरै २८ प्रतिशत बालकको विवाह हुन्छ । निकारागुवामा १९ प्रतिशत र मदागास्करमा १३ प्रतिशत बालकहरूको विवाह हुने गरेको छ ।

युनिसेफले बालविवाह धेरै हुने मुलुकमा नेपाल दशौं स्थानमा रहेको र बालक तथा बालिकाको उत्तिकै दरले बालविवाह हुने दक्षिण एसियाली एक मात्रै मुलुकका रुपमा नेपाललाई चित्रण गरेको छ ।

यूनिसेफका अनुसार विश्वभर ७६ करोड ५० लाख बालबालिकाको बालविवाह भएको छ । त्यसमा पनि बालिकाको संख्या अधिक छ । विश्वको औसतःमा २० देखि २४ वर्षका पाँच महिलामध्ये एकको १८ वर्ष उमेर पुग्नुअघि नै विवाह हुन्छ ।

उक्त उमेर समूहा ३० पुरुषमध्ये एकको १८ वर्ष उमेर पुग्नुअघि विवाह भएको अध्ययनले देखाएको छ ।