मनोरञ्जन

अब भेडेटारमा समेत जीपलाइनको मज्जा

धरान । अब धरानमा समेत जीपलाइन चढ्न पाइने भएको छ । शनिबार धरान ४ स्थित भेडेटारमा साहसिक खेल जीपलाइनको औपचारिक शुभारम्भ भएको छ ।

भेडेटार देवीथान जीपलाइनको शनिबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे ।

मुख्यमन्त्रीले उद्घाटन गरेको यस जीपलाइनमा धरानकी उपप्रमुख मन्जु भन्डारी आफै चढेर जीपलाइनको उद्घाटनमा सहभागी भइन् ।

उनले सुपरम्यान जीपलाइन गरिन् । धरान ४ तर्फको भेडेटारबाट सुरुवाती बिन्दु राखिएको छ । देवीथानमा ल्याण्डिङ बिन्दु बनाइएको छ ।

जीपलाइन ६ सय ५० मिटर लामो रहेको छ । उचाई भने १५० मिटरसम्म रहेको छ । यसको दूरी करीव ४५ सेकेण्डमा पार हुने भएको छ ।

वल्र्ड वाइड ग्रुप नेपाल प्रालिले यहाँ जीपलाइन शुरु भएको हो । यसको लागत ३ करोड भएको कार्यक्रममा जानकारी दिइयो ।

जीपलाइनमा क्लासिक, सुपरम्यान र टेन्डम गरी तीन वटा प्रडक्ट विकास गरिएको छ । यो जीपलाइन धुलिखेल जीपलाइन कै एक शाखा हो ।

सोही समूहले विभिन्न स्थानमा जीपलाइनको विकास र बिस्तार गरिरहेका छन् ।