समाचार

आज पहाडमा होली, सतर्क रहन सरकारको आह्वान

काठमाडौं । आज पहाड र हिमाली भेगमा होली पर्व मनाइदैछ । रंग र अबिरको पर्वका रुपमा लिइने यो दिन आफन्त तथा साथिभाईबीच भाइचारा साटासाट गरिन्छ । फागुन शुक्ल पूर्णिमाका दिन यो चाड पर्छ ।

केही वर्ष अगाडीसम्म निकै उच्छृंखल बनेको होली स्थानीय प्रशासनको कडाई पछि पछिल्ला वर्षहरुमा भने व्यवस्थित बन्दै गएको छ । तर, यस वर्ष भने सरकारले सकभर होली नखेल्ने सर्वसाधारणसँग आह्वान गरेको छ ।

होलीले कोरोना भाइरसको संक्रमण सर्ने भएकाले त्यसो नगर्न आग्रह गरिएको हो । आजबाट वसन्त ऋतुको आगमन हुने मानिन्छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथासँग यो पर्वको महिमा जोडिएको छ ।

शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्न थालिएको जानकार हरु बताउँछन् ।

यस पर्वका अवसरमा आज काठमाडौंको वसन्तपुरमा उपस्थित भएर वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडीखेलमा लगी जलाउने गरिन्छ ।

उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचार गरिने विश्वास रहेको छ । चीरका खरानी लिन समेत तछाडमछाड हुने गरेको छ ।

यो वर्ष राजधानी काठमाडौंसहित सदरमुकामहरुमा औपचारिक होली कार्यत्रम आयोजना हुने छैनन् । यसका लागि सरकारले अनुमती नै दिएको छैन । त्यसरी होली खेलेको पाइएमा सरकारले कारवाही समेत गर्न सक्नेछ ।