फिचर

अब कोटेश्वर-कलंकी रोडमा डेडिकेटेड लेन

काठमाडौं । कोटेश्वर-कलंकी सडकमा अब डेडिकेटेड लेन तोकिने भएको छ । त्यसअनुसार अब यात्रुबाहक तथा मालबाहक सवारी साधनले छुट्टै लेनमा मात्र गुड्न पाउने छन् ।

८ लेन सडक रहेको यहाँ निजी र द्रुत गतिमा गुड्ने सवारी साधनले भने छुटटै लेनको प्रयोग गर्नुपर्ने भएको छ ।

यद्दपी यो नियम २ चैतबाट मात्र कार्यान्वयनमा आउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । यस रुटमा अब यात्रुवाहक तथा मालवाहक गाडी बायाँ सर्भिस लेनबाट र निजी तथा साना सवारी साधन दाहिने मुख्य (द्रुत) लेनबाट मात्र चलाउन पाइने छ ।

यो रुटमा सबै सवारी साधन एकै लेनमा दौडिदा दूर्घटना बढेको छ । सडक लेन अनुशासित पालना गर्न, यातायात व्यवस्थित गर्न र सवारी आवागमनलाई सहज बनाउन यस्तो नियम ल्याउन लागिएको कार्यालयको भनाई छ ।

यसले ट्राफिक नियमको पालनामा समेत चालकहरुलाई सचेत गराउने छ । यो सडक खण्ड काठमाडौंमा तुलनात्मक रुपमा व्यबस्थित र सुविधायुक्त रहेको छ ।

यात्रुबाहक, मालबाहक र बिस्तारै गुड्ने गाडीहरु बाँया लेनबाट र साना हलुका र द्रुत गतिमा गुड्ने सवारी साधन दाहिने लेनबाट चल्ने अन्तर्राष्ट्रिय प्रचलन अनुसार यहाँ समेत सोही अपनाउन लागिएको हो । यो नियम अहिले जडिवुटी-सुर्यविनायक सडक खण्डमा कार्यान्वयनमा छ ।