फिचर

निचोडतर्फ डेमोक्रेटिक राष्ट्रपतिय होड, ‘सुपर ट्युज्डे– २’ मा बाइडेनको सानदार जित

प्रभात भट्टराई/अमेरिका
सिनेटर बर्नी स्यान्डर्सका लागि ‘गर या मर’ रहेको मंगलबारको डेमोक्रेटिक प्राइमरी निर्वाचनमा पूर्व उपराष्ट्रपति जो बाइडेनले सानदार जित हासिल गरेका छन् । अपेक्षाभन्दा कमजोर प्रदर्शनसँगै स्यान्डर्सले मंगलबार राती कुनै पनि प्रतिकृया दिन अश्विकार गरे ।

‘सुपर ट्युज्डे– २’ भनेर मिडियाहरुले चर्चा गरेको मंगलबार छ राज्यमा प्राइमरी निर्वाचन भएको थियो । त्यसमध्ये तीनवटा बाइडेनले सानदार जित हासिल गरि सकेका छन् । मिसिगन (१२५ डेलिगेट्स), मिसिसिपी (३६ डेलिगेट्स) र मिजौरी (६८ डेलिगेट्स) मा बाइडेन बिजेता घोषित भएका हुन् । वासिंटन (८९ डेलिगेट्स), आइडाहो (२० डेलिगेट्स) र नर्थ डकोटा (१४ डेलिगेट्स) को मतगणना जारी छ । कोरोना भाइरसबाट सर्वाधिक प्रभावित वासिंटनमा धेरै मत हुलाकबाट आएका कारण बुधबार साँझसम्ममा मात्र पूर्ण नजिता आउने अपेक्षा गरिएको छ । मंगलबार मध्यरातसम्म त्यहाँ कहिले बाइडेन त कहिले स्यान्डर्सले उछिनी रहेका छन् । दुबैजनाबीच दुई हजार भन्दा कम मतान्तरमा प्रतिश्पर्धा भइ रहेको छ ।

स्यान्डर्सले मिचिगनलाई आफ्नो सबैभन्दा ठूलो प्रतिष्ठाको बिषय बनाएका थिए । मंगलबार प्राइमरी भएकामध्ये सबैभन्दा ठूलो राज्य मिचिगन सन् २०१६ को प्राइमरीमा उनले जितेका थिए । सबै सर्भेक्षणहरुले हिलारी क्लिन्टनको जित देखाइ रहेका बेला १२ हजार मतको जित हासिल गरेका स्यान्डर्स यसपाली पनि त्यही चमत्कार दोहोर्याउने अपेक्षामा थिए । तर, यसपाली उनले ४० प्रतिशत पनि भाेट पाउन सकेनन् र बाइडेनसँग १२ प्रतिशत बिन्दुभन्दा बढिकाे मतान्तरमा पराजित भए ।

शुक्रबार मिसिसिपीमा तय चुनावी सभालाई समेत स्थगित गर्दै मिचिगन हानिएका स्यान्डर्सले त्यहाँ चार दिन  बिताएका थिए । तर, उनको त्यो प्रयास जित निकाल्न संभव भएन । मिसिसिपीमा एक पटक पनि सभा नगर्नाको नराम्रो परिणाम पनि उनलाई हात लागेको छ । काला जातीका मतदाता बहुल उक्त राज्यमा स्यान्डर्सले १५ प्रतिशत हाराहारी मात्र मत पाएका छन् भने बाइडेनले ८० प्रतिशत माथि । मिजौरी पनि बाइडेनले ६० प्रतिशत भोट ल्याउँदा स्यान्डर्सले ३० प्रतिशत हाराहारी मात्र पाएका छन् । आइडाहोमा पनि बाइडेनकै लिड छ भने नर्थ डकोटामा झिनो मतान्तरले स्यान्डर्स अघि छन् । तर, राज्यमा आधा बढि भोट गन्न बाँकी नै छ ।

मंगलबारको चुनावसँगै २४ अमेरिकी राज्यको प्राइमरी सम्पन्न भएको छ । त्यसमध्ये अहिलेसम्म स्यान्डर्सको प्रष्ट पक्षमा सात मात्र देखिएका छन् । त्यसैले डेमोक्रेटिक प्राइमरी होड अब छिट्टै टुङ्गिने आंकलन हुन थालेको छ । दुई दर्जन बढि रहेका डेमोक्रेटिक राष्ट्रपतिय प्रत्याशीहरु क्रमशः ड्रप आउट हुँदै अहिले बाइडेन र स्यान्डर्समा छोट्टिएको हो । अब अर्को साता ठूला राज्यहरु फ्लोरिडा, इलाइनोइस, ओहायो, जर्जिया, एरिजोनामा प्राइमरी चुनाव हुँदैछ । ती सबैमा स्यान्डर्सको प्रभाव न्यून छ । आउँदो आइतबार डेमोक्रेटिक राष्ट्रपतिय बहस रहेको छ । उक्त बहसमा बाइडेन माथि थप प्रहार गरेर अर्को साताको चुनावसम्म हेर्ने या त्यस अघिनै बाइडेनलाई समर्थनको घोषणा गर्नेबारे स्यान्डर्स क्याम्पेनले छिट्टै निर्णय लिने विश्लेषकहरुको आंकलन छ ।