समाचार

न्यूयोर्कमा वालुङ समुदायको लोसार

न्यूयोर्क/अमेरिका
वालुङ समुदाय युएसएले न्यूयोर्कमा ल्होसार मनाएको छ । गत साता आयोजना गरेको कार्यक्रममा बिभिन्न समुदायका ब्यक्तिहरुको उपस्थिति थियो ।
टिबेट र नेपालको सिमानामा बसोबास गर्नेहरु नै वालुङ समुदाय हो । नेपालको ताप्लेजुङको वालुङ गाउँपालिकामा वालुङ समुदायका मानिसका बसोबास गर्ने गर्छन् । वालुङमा नेपालकै दोश्रो ठूलो गुम्बाको रुपमा रहेको ऐतिहासिक गुम्बा डिकी छ्योलिङ गुम्बा छ ।
त्यस गुम्बामा वर्षमा ४ पटक विभिन्न साँस्कृतिक झल्काउने कार्यक्रमहरु गरिदै आएको छ । जसमा पुजापाठ गर्दा फुटुक चाहि विशेष रुपमा मनाईने चलन छ । स्थानीय गाउँले र देश बिदेशबाट आएका बौद्धधर्मावलम्बीहरुको ठूलो उपस्थिति हुने गर्छ ।
वालुङ समुदायका अध्यक्ष छिरीङ तोपग्याले वालुङ समुदाय युएसएले अमेरिकामा पनि गुम्बा स्थापना गर्नको लागि ट्रष्टी बोर्ड तयार भएको र त्यसका लागि आर्थिक संकलन गर्न तिब्र गतिमा लागिपरेको बताएका थिए ।
‘अब चाँडै ट्रष्टी बोर्डको साथमा वर्तमान कार्यसमिति मार्फत घरदैलो कार्यक्रम गरेर धेरै भन्दा धेरै आर्थिक सहयोग संकलन गर्नेछौ’ अध्यक्ष तोपग्यालले बताए ।
भावी पुस्ताका लागि आफ्नो भाषा, धर्म र संस्कृति सिकाउनका लागि चाँडै नै भाषा कक्षा सञ्चालन गर्ने बताए । नेपालमा वालुङ समुदायले ग्याल्बो लोसार र सोनाम लोसार संयुक्त रुपमा मनाउँदै आएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि न्यूयोर्कस्थित नेपाली महाबाणिज्यदूतावासका महाबाणिज्यदूत पुष्पराज भट्टराईले विदेशमा भए पनि आफ्नो देशको संस्कार र संस्कृति संरक्षण गर्न नेपाली समुदाय सबै क्षेत्रबाट लागि परेकोमा खुशी व्यक्त गरे । उनले कोरोना भाईरस कारण समस्या बढ्दै गएकोले सबैलाई सचेत हुन पनि आग्रह गरेका छन् । नेपाल भ्रमण बर्ष २०२० का बारेमा नेपाल महोत्सव गर्ने योजना यथावत रहेको र परिस्थिति बस थोरै समय पछि पर्न गएकोले सबैले सकेको सहयोग गर्न पनि अपिल गरेका छन् ।
कार्यक्रमका नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)का अध्यक्ष लोक चेम्जोङले लोसार नयाँ वर्षको आगमनमा ल्होसार कार्यक्रम गरिने भएको र यस कार्यक्रममा सबैको भाईचारा, एक आपसको भेटघाट सहकार्य सम्बन्ध राम्रो बनाउँदै सबै समुदायलाई एकजुट हुन आग्रह गरे ।
विदेशमा भए पनि हाम्रो पहिचान र विविधतामा एकताको सन्देश जाने अवसर मिलेको उनले बताए ।