कला / साहित्य

कविता : मैले लेख्न छोडें

प्रवीण भट्टराई / श्रीजङ्गा-४, ताप्लेजुंग

खै के लेखौं

हरेक मौकामा

रंग बदल्ने 

छेपाराहरुको कथा

खै के लेखौं 

हरेक जमघटमा

एकान्त खोज्ने 

ढेडुहरुको कथा

खै के लेखौं 

मुखमा राम राम

बगलीमा छुरा

बोक्नेहरुको कथा

खै के लेखौं 

विहान 

राम्रो कुरा

दिउँसो 

हाम्रो कुरा

अनि साँझ 

चाम्रो कुरा गर्ने

चेपारेहरुको कथा ।

म आजकल 

अक्क बक्क अनि

तीन छक्क पर्छु

विहान भेटेको मान्छे

दिउँसो अर्कै हुन्छ

दिउँसो देखेको मान्छे

साँझ अर्कै बन्छ

साँझ देखेको मान्छे

रातमा अर्कै हुन्छ

न उस्को 

नाम फेरिएको हुन्छ

न उस्को 

जात फेरिएको हुन्छ

मान्छे उही हुन्छ, 

जात उही हुन्छ

अलिकति रंग 

अलिकति ढंग 

फेरिएको हुन्छ

तर ऊ चन्द्रमामा 

पुगेको हात्ती ठान्दै

अरुलाई धरतीका 

भुसुना ठान्छ

अनि विवश हुन्छौं

हामी विवश मान्छेहरु

यी हात्तीका

जोर लात्ती खान 

खै के लेखौं यी

मत्ता हात्तीहरुको गाथा।

आजकल 

मान्छे अन्धो भएको छ

गधालाई गाई ठान्छ

चोरलाई साधु मान्छ

आजकल 

चिनेजानेका भन्नेहरु

सनै सनै हराए विलाए 

अनि कसैको शिरमा 

भर्याङ्ग ठड्‌याएर

आस्था र विश्वासको 

सगरमाथा चढ्नेहरु

दिनको दुगुना

रातमा चौगुना हुँदै 

चढ्दै गए बढ्दै गए 

शिखरमा पुगेर भर्याङ्गले

सगरमाथा ढाल्न खोज्नेहरु

अनि त्यही भर्याङ्गलाई फाल्नेहरु 

उनीहरुलाई के थाहा

फर्कनलाई भर्याङ्ग फेरी पनि चाहिन्छ

म आजकल

यस्तै 

चेपारे अनि छेपारेहरुबाट बेरिएको छु

कर्निसको किनारमा

एक थान बकुल्लाहरु छन्

माछा ढुकेर बसेका

म केही दिन एता

मरूभूमीमा

बाग्मती खोजिरहेको छु 

खै के लेखौं 

यी बालुवामा पानी हाल्नेहरूको कथा

खै के लेखौं

सिरक ओढेर

घिउ खानेहरूको कथा ॥

——————