स्वास्थ्य

कालो बजारी गर्न मास्क थुपार्ने ८ जना प्रहरीको फन्दामा

काठमाडौं । प्रहरीले कालोबजारीका लागि हजारौं थान सर्जिकल मास्क थुपार्ने ८ जनालाई पक्राउ गरेको छ ।

कोरोना भाइरसको त्राससँगै बजारमा सर्जिकल मास्कको अभाव भएको छ । तर, व्यापारीले भने बढी मूल्यमा बिक्रि गर्न यस्तो मास्क लुकाएका छन् ।

प्रहरीले बढी मूल्यमा मास्क बिक्रि गरेको पाइए तत्काल खबर गर्न सर्वसाधारणसँग आग्रह गरेको छ । शनिबार काठमाडौंको डल्लुबाट कालो बजारी गर्न जम्मा गरिएको ७८ हजार सर्जिकल मास्कसहित ८ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा गोदामका मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी ९ का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय र न्रिप कार्की रहेको प्रहरीले उल्लेख गरेको छ ।

यसैगरी काभ्रेका गणेश तामाङ र रामेछापका शिव खड्का पनि पक्राउ परेका छन् मञ्जुश्री सप्लायर्सबाट ३ रुपैयाँ पर्ने एउटा मास्कलाई ३१ रुपैयाँमा होलसेल दिने र बजारमा ५० रुपैयाँमा बेच्ने तयारी गरिरहेको पत्ता पाएपछि प्रहरीले पक्राउ गरेको हो ।

कोरोनाको मौका छोपेर बजारमा कृतिम अभाव सिर्जना गर्ने र बढी मूल्यमा सामान बेच्ने गिरोह सक्रिय रहेका छन् ।