विज्ञान प्रविधि

नयाँ हुवावे स्मार्टफोन किन्दै हुनुहुन्छ ? सामाजिक संजाल चलाउन नपाइएला

फेसबुकले अब आफ्नो मातहत चलिरहेका सामाजिक संजालका एपलाई हुवावेका स्मार्ट फोनबाट हटाउने भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोएटर्सले उल्लेख गरेअनुसार अब नयाँ बन्ने हुवावेका स्मार्ट फोनमा फेसबुक, ह्वाट्सएप, इस्टाग्राम एप उपलब्ध नहुने भएका छन् ।

फेसबुकले आफ्ना एप अब बन्ने हुवावेका नयाँ फोनमा प्रिइन्स्टल हुने सुविधा हटाउन लागेको उल्लेख छ । ह्वाट्सएप र इन्स्टाग्राम फेसबुकका भगिनी संस्था हुन् ।

अघिल्लो महिना अमेरिकाले आफ्ना देशका कम्पनीहरूलाई सुरक्षा जोखिम रहन सक्ने बताउँदै विदेशी दूरसञ्चार प्रदायकहरूसँग सहकार्य नगर्न निर्देशन दिएको थियो।

त्यस अगाडी हुवावेले अब बनाउने फोनमा गुगलका प्लेस्टोर, जिमेल, गुगल म्याप र युट्युब एपहरू नराख्ने बताइएको छ । अमेरिका र चीनबीच व्यापार युद्धको शिकार अहिले हुवावे बनेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीहरूले कारोबार गर्न नपाउने विदेशी कम्पनीको सूचीमा हुवावेलाई पनि राखेका छन् । त्यसो त हुवावेले अहिले फोन प्रयोग गरिरहेका प्रयोगकर्तालाई यस प्रतिवन्धले कुनै असर नगर्ने कम्पनीले स्पष्ट पारिसकेको छ ।
एजेन्सी