स्वास्थ्य

एसईइ नरोकिने, तयारी पुरा भएको सरकारको भनाई

काठमाडौं । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी पुरा भएको सरकारले जानकारी दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार एक विज्ञप्तीमार्फत परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको जानकारी गराएका हुन् ।

उनका अनुसार परीक्षा तोकिएकै समयमा सम्पन्न हुनेछ । त्यसो त बुधबारसम्म सबै विद्यालयलाई वार्षिक परीक्षा सकाउन सरकारले यसअघि नै निर्देशन दिएको थियो ।

बुधबारबाट कम्तिमा एक महिना विद्यालयहरु बन्द हुने भएका छन् । कोरोना संक्रमण फैलने डरले छिटो विद्यालयहरु बन्द गर्न सरकारमाथि दवाव रहेको छ ।

६ देखि १७ चैतसम्म हुने एसईई परीक्षामा भने देशभरका कुल ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुँदैछन् ।

देशभर १ हजार ९९५ परीक्षा केन्द्र तोकिएका छन् । मन्त्री पोखरेलका अनुसार हरेक परीक्षा केन्द्रमा स्वास्थ्य केन्द्र हुनेछन् ।

पर्याप्त सावधानीसहित परीक्षा सञ्चालन र व्यवस्थापन गर्न लागिएको छ ।

विद्यार्थीहरुलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रहरुमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्ध मिलाइएको छ ।

यसको व्यवस्थापन ७५३ वटै स्थानीय तहले मिलाउने छन् । मन्त्रालयले विद्यार्थीहरुलाई साबुनपानी प्रयोग गरेर हात धुन, मास्क प्रयोग गर्न, अरुसँग हात नमिलाउन र सकभर भीडभाडमा नजान आह्वान गरेको छ ।

कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सकिएपछि विद्यालय बन्द हुनेछन् ।

परीक्षा सकिएपछि करीब ७० लाख बालबालिका घर परिवारमा हुनेछन् ।

शिक्षा मन्त्रालयले मुलुकको विशेष परिस्थितिलाई ध्यानमा राखेर विद्यालयमा सांस्कृतिक कार्यक्रम, बार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिकीकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा आम भेला नगर्न विद्यालयहरुलाई आग्रह गरेको छ ।