समाचार

चीनले नेपाललाई भन्यो : सहयोग चाहिए उपलब्ध गराउँछौं

काठमाडौं । चीनले कोरोना भाइरस संक्रमणबाट बच्न नेपाललाई सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ ।

चीन अहिले कोरोनाको उच्च जोखिमबाट बाहिर निस्किसकेको छ । यद्दपी नेपालमा कोरोनाको संक्रमण अहिलेसम्म देखिएको भने छैन । तर, नेपाललाई विश्व स्वास्थ्य संगठनले उच्च जोखिमयुक्त मुलुकको सूचिमा राखेको छ ।

सोहीकारण कोरोना विरुद्ध लड्न नेपालले आवश्यक ठानेको सबै प्रकारको सहयोग गर्न चीन तयार रहेको प्रतिवद्धता चीन सरकारले नेपाल सरकारसमक्ष गरेको छ ।

चिनियाँ दूतावासमार्फत चीनले नेपाल सरकारलाई के के सहयोग र सहायता आवश्यक पर्छ भनेर लिस्ट समेत मागेको परराष्ट्र स्रोतलाई उदृत गर्दै संचारमाध्यमले लेखेका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाल कोरोना संक्रमणको सम्भावित दबावमा रहेको र यसले नेपालको अर्थतन्त्र तथा जनजीवनमा प्रभाव पारेको भन्दै चीनले नेपाललाई सबैखाले सहायता दिन तयार रहेको जानकारी गराएको हो । चीनले केही राष्ट्रलाई सहायता बढाउने नीति लिएको छ ।

सोहीअनुसार चीनको प्राथमिकतामा नेपाल पनि रहेको छ । चीनले नेपाललाई पठाएको पत्रमा नेपालले यस समयमा चीनबाट कस्ते सहयोग र सहायता चाहन्छ भनेर सोधिएको छ ।

चीनले नेपालमा कोरोना भाइरस संक्रमण अन्त्य भएसँगै नेपाल भ्रमण गर्ने पर्यटक चीनबाटै पहिलो भ्रमण गराउन समेत चाहेको समेत उल्लेख गरेको छ ।

नेपालका विकास परियोजनालाई समेत चीनले तिव्रता दिने उल्लेख छ । नेपालका अधिकांश ठूलो आयोजना चिनियाँ ठेकेदार कम्पनीले जिम्मा लिएका छन् ।

यसअघि चीन चरम संकटमा रहेको बेला नेपाल सरकारले चीनलाई एकलाख मास्क सहयोग पठाएर मानवीयता प्रदर्शन गरेको थियो । चीन नेपालभन्दा निकै शक्तिशाली रहेको छ ।