समाचार

कालोबजारीविरुद्ध आक्रामक सरकार, सहुलियत पसल संचालन गरिने

काठमाडौं । बजारमा कालो बजारी गर्नेहरु सक्रिय भएपछि त्यसको निरुत्साहनका लागि सरकार आफैले सहुलियतपूर्ण पसल संचालन गर्ने भएको छ ।

नोवेल कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण नेपालमा पनि बजारमा सामानहरुको अभाव सिर्जना भएको छ ।

यही मौकामा धेरै धन कमाउने उद्देश्यले कालो बजारी गर्नेहरु सक्रिय भएका छन् । पछिल्लो समय मास्क, स्यानिटाइजरलगायत सरसफाईका काममा प्रयोग हुने सामानको कालोबजारी तिब्र छ ।

उपभोग्य समामानको कालोबजारी पनि उत्तिकै रहेको छ । बजारमा अत्यावश्यक वस्तुमा भएको कालोबजारी रोक्न पसल सञ्चालन गर्न लागिएको सरकारको भनाई छ ।

मंगलबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता समितिमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले यस्तो जानकारी दिएका हुन ।

उनका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत सहुलियतपूर्ण पसल सञ्चालन हुने भएका छन् ।

पसल छिट्टै संचलनमा ल्याउने तयारी सरकारले गरेको हो । मन्त्री भट्टका अनुसार पसलमा नुन, चिनी, चामल, दाल, ग्याँस, इन्डक्सन चुल्हो उपलब्ध हुनेछन् ।

ती सामान बेच्न घुम्ती पसल समेत संचालन गरिने छ । अभाव सिर्जना भएका स्थानमा देशभर नै यस्ता सामान बिक्रि गरिने भएको छ ।