स्वास्थ्य

भारतमा आइतबार जनता कर्फ्यु, कोरोनाबाट चौथो व्यक्तिको मृत्यु

नयाँदिल्ली । भारतले कोरोना संक्रमणविरुद्ध ऐकिवद्धता जनाउन आइतबार जनता कर्फ्यु घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विहीबार साँझ जनताका नाममा सम्बोधन गरेका थिए ।

उक्त अवसरमा उनले जनस्तरबाट कोरोनाविरुद्ध सचेतना जगाउन आइतबार जनता कर्फ्युको घोषणा गरे । यस दिन भारतमा सबै मानिस घरमै बसेर यो दिन मनाउने छन् ।

प्रधानमन्त्री मोदीले आइतबार बिहान ७ बजेदेखि राति ९ बजेसम्म जनता कर्फ्यु लागू गरिएको घोषणा गरेका हुन्।

भारतमा बिहीबार कोरोना भाइरसबाट थप एक जनाको ज्यान गएको छ ।

उनी चौथो भारतीय बनेका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पन्जावमा ७० वर्षीय वृद्धको ज्यान गएको हो । उनी इटालीबाट जर्मनी हुँदै मार्च ७ मा भारत आएका थिए ।

मन्त्रालयका अनुसार मधुमेहको बिमारबाट ग्रस्त उनमा कोरोनाको पुष्टी भने बुधबार मात्र भएको थियो । बिहीबार साँझ भारतीय स्वास्थ्य मन्त्रालयले यसको पुष्टी गरेको छ ।

भारतमा कोरोना भाइरसको संक्रमणबाट चार जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक सय ६७ पुगेको छ ।

विश्वभर फैलिएको भाइरसबाट वृद्धवृद्धाहरु धेरै प्रभावित भएको भारतीय प्रधानमन्त्री मोदीले उल्लेख गरेका छन् ।

उनले केही हप्तासम्म ६० वर्षभन्दा माथिका नागरिकलाई घरबाट बाहिर ननिस्कन आग्रह समेत गरेका छन्। यस्तै, अत्यावश्यक काम परेको खण्डमा बाहेक प्रत्येक नागरिकलाई घरमै बस्न उनले आह्वान गरेका हुन् ।