स्वास्थ्य

९ चैतबाट १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द, सार्वजनिक सवारी साधन रोकिने

काठमाडौं । अब सरकारले नेपाल र विदेशबीच हवाई सम्पर्क टुटाउने भएको छ । ९ चैतबाट १८ चैतसम्म नेपाल भित्रने सबै वायुसेवा कम्पनीको उडान रद्द गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका नाममा सम्बोधन गर्दै यो घोषणा गरेका हुन् । उनका अनुसार सरकारले सीमा नाकाबाट आउनेहरुको अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरेको छ ।

यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसंग आवश्यक समन्वय गरिने उनले उल्लेख गरे ।

देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गने समेत उनले घोषणा गरेका छन् ।

आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।

मानिसहरुको भडिभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ । विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ । महामारीको अवस्थालाई हेरी थप कदम पनि चाल्न सकिने उनले उल्लेख गरे ।