समाचार

प्रतिवन्धित मुलुकबाट धमाधम यात्रु ल्याउँदै एयरलाइन्स

काठमाडौं । सरकारले अनअराइभल भिषा रोकेको छ । यूरोपसहित ६६ देशबाट आजका दिनसम्म नेपाल भित्रन नपाउने नियम छ । तर, आइतबार रातीसम्म प्रतिवन्धित मुलुकबाट वायुसेवा कम्पनीले यात्रु ल्याउन भने छाडेनन् ।

आइतबार राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सिंगापुरबाट सिल्क एयरले आकस्मिक अवतरण गर्यो । इन्धन सकिएको बाहनामा अवतरण गरेको जहाजमा ८५ जना यात्रु रहेको पाइएको छ ।

त्यसमध्ये नेदरल्याण्डबाट आएका एक नेपालीसमेत रहेको पाइएपछि तिब्र विवाद भएको थियो । करीव एक घण्टा यात्रुलाई जहाज भित्रै राखिएको थियो ।

पछि पर्यटन मन्त्रालयको समन्वयमा यात्रुलाई बाहिर निकालियो । उनीहरुमध्ये ३ जनालाई खरीपाटीस्थित क्वारेन्टाइनमा पठाइयो ।

अन्य यात्रुलाई भने होम क्वारेन्टाइनमा बस्ने शर्तसहित घर पठाइएको छ । यसअघि पनि वायुसेवा कम्पनीहरुले पटक पटक प्रतिवन्धित मुलुकबाट यात्रु ल्याएका छन् ।

यसरी आएका यात्रुलाई खरीपाटी पठाइएको छ भने वायुसेवा कम्पनीहरुलाई कारवाही गर्ने तयारी छ ।

शनिबार थाइ एयरवेजले ४९ र एयर इण्डियाले १२ जना नेपालीलाई त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थलमा ल्याएका थिए ।

उनीहरु पनि प्रतिवन्धित मुलुकबाट आएका थिए । कोरोनाको संक्रमणको जोखिमले अहिले सरकारले यात्रामा कडाई गरेको छ ।