विज्ञान प्रविधि

आजबाट अन्तराष्ट्रिय उडान बन्द

काठमाडौं । नेपाल आउने अन्तराष्ट्रिय वायुसेवा कम्पनीको उडान आजबाट बन्द हुँदैछ । सरकारले विदेशी यात्रुको आवतजावत रोक्ने उद्देश्यले आजबाट अन्तराष्ट्रिय उडान तथा अवतरण रोक्ने निर्णय गरेको छ ।

यसको कार्यान्वयन आजबाट हुने भएको छ । नेपालमा २९ कम्पनीका ६५ भन्दा बढी उडान अवतरण हुने गरेका थिए ।

संसारका १८५ भन्दा बढी मुलुकमा कोरोनाको संक्रमण फैलिएसँगै सरकारले विदेशबाट नेपालसँगको सम्पर्क विच्छेद गर्न लागेको हो ।

अब आकस्मिक सेवाका उडान, एयर एम्बुलेन्सलगायत उड्नै पर्ने सेवाबाहेक अन्य सबै सेड्यूल उडान रोक्ने निर्णय गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी चैत २१ गतेसम्म सबै उडान तथा अवतरण बन्द हुन लागेको जानकारी गराएको हो । अब भारतीय स्थल नाकाबाट आउने यात्रुबाहेक सबै विदेशी यात्रुको आवागमन रोकिने भएको छ ।