समाचार

कोरोना संक्रमितको उपचार सहयोगका लागि राष्ट्रपति ट्रम्पले खटाउने भए तीन राज्यमा सेना

न्यूयोर्क

सपनाको शहर न्युयोर्कमा नाटकीय रुपमा कोरोना संक्रमितहरुको संख्या बढेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले उपचार सहयोगको लागि नेसनल गार्ड (सेना) लाई खटाउने भएका छन् । विश्वका मानिसको सपनाको शहर न्युयोर्क यति बेला कोरोनासँग लडिरहेको छ । सडकहरु सुनसान छन् । मानिसहरु बाहिर निस्कन डराउन थालेका छन् । आइतबार दिउँसोसम्म न्युयोर्क राज्यमा झन्डै १६ हजार मानिस कोरोना संक्रमित भै सकेका छन् भने ११४ जनाको मृत्‍यु भै सकेको छ ।  

राष्ट्रपति ट्रम्पले वासिङ्टन राज्य र क्यालिफोर्नियामा पनि उपचार सहयोगको लागि सेना खटाउने भएका छन् । आईतबार साँझ भएको ह्वाईट् हाऊस कोरोना भाइरस टाक्स फोर्स ब्रिफिङमा राष्ट्रपति ट्रम्पले उक्त कुरा बताएका हुन । उपचार सहयोगमा सेना खटाउनुका साथै ठुलो संख्यामा मास्क, रेस्पिरेटर्स गाउन, फेस सिल्ड लगायतका चिकित्सा उपकरण र सुबिधा सम्पन्न बिरामीका बेडहरु समेत ठुलो संख्यामा यी तीन राज्यमा ४८ घण्टा भित्र पठाउने आदेश दिएको ट्रम्पले ब्रिफिङमा बताएका छन् ।  

अमेरिकाको ५० वटै राज्यमा संक्रमितको संख्या बढ्दै गएको छ । अमेरिकामा आइतबारसम्म संक्रमितको संख्या ३२ हजार ३ सय ५६ पुगेको छ भने ४ सय १४ को ज्यान गई सकेको छ ।