फिचर

कोरोनाको कहर– ट्रम्पलाई साँचो बोलाउन डाक्टर फाउसीको संघर्ष

प्रभात भट्टराई/अमेरिका
अमेरिकामा कोरोना भाइरसको प्रकोप चर्कंदो छ । दुई सातामा अमेरिकी जनजीवनमा नाटकीय परिवर्तन आइ सकेको छ । अझै पनि भाइरस नियन्त्रणको कुनै लक्षण देखिएको छैन । अस्पतालहरुमा मास्क, पञ्जा, भेन्टिलेटर जस्ता जरुरी स्वास्थ्य उपकरणको खाँचो भइ रहेको छ । सोमबार साँझसम्ममा भाइसरबाट मृत्यु हुनेको संख्या साढे पाँच सयबाट उकालो लागेको छ भने संक्रमित ४५ हजार पुग्न लागेका छन् । अमेरिकामा अहिलेसम्मको दर अनुसार हरेक तीन दिनमा मृतकको संख्या दोब्बर भइ रहेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारले गत साता देखि १५ दिनका लागि ‘सोलियर डिष्टेन्स’ नीति लागु गरेसँगै देशभरका रेष्टुरेन्ट देखि बारहरुमा भेला भएर खान रमाइलो गर्न बन्देज छ । कतै पनि १० जनाभन्दा धेरै भेला हुन पाइँदैन । तर, अझै पनि भाइरस विस्तार ओरालो लाग्ने लक्षण देखिएको छैन । सोमबार पहिलो पटक अमेरिकामा एकै दिन १०० जना बढिको मृत्यु भएको छ । संक्रमितको संख्या बृद्धिको दर हेर्दा अमेरिकाले छिट्टै चीनलाई उछिन्ने देखिन्छ ।

दुई साता अघि सयमा रहेको संक्रमितको संख्या यति चाँढो ५० हजार नजिक पुग्नुले चीनको ८१ हजार आँकडा उछिन्न धेरै समय लाग्ने देखिन्न । विश्वभरमा संक्रमितको संख्या चार लाख पुग्न लागेको छ भने १६ हजार बढिले ज्यान गुमाइ सकेका छन् । एक पटक निर्मुल घोषणा गरि सकेका ‘इपिसेन्टर’ चीनले पनि नयाँ रोगी भेटिएको रिपोर्ट गर्न थालेको छ । अर्कोतिर कोरोना भाइसर नियन्त्रणका लागि भ्याक्सिन तयार हुन लाग्ने समय सीमाको कुनै निश्चितता छैन । बैज्ञानिकहरुले एक देखि डेढ बर्ष भित्रमा भ्याक्सिन बन्न सक्ने बताएका छन् । अमेरिकी जनस्वास्थ्य बिज्ञहरुले भाइसरको प्रकोपट रोकथामका लागि पाँच दर्जन बढि औषधी स्वीकृत गरेका छन् । तर, ति औषधी कोरोनाका लागि नभइ अरुनै रोगमा प्रयोग हुँदै आएका हुन् ।

अर्कोतिर संकटको समयमा अमेरिकी राष्ट्रपति ट्रम्पमा चरम अस्थिरता देखिन्छ । गत साता ‘सोलियर डिष्टेन्स’ नीति घोषणा गर्दा उनले यो प्रकोप जुलाई देखि अगष्टसम्म जाने बताएका थिए । त्यसयता जनस्वास्थ्य विज्ञहरुलाई चुनौती दिँदै मलेरियाको औषधि क्लोरोक्वाइन, ‘एन्टिबायोटिक एजिथ्रोमाइसिन’ लगायतले कोरोना भाइरस निको पार्न सक्ने दावी गरे । अमेरिकी अर्थतन्त्रले भाइरसका कारण खेपेको चोट सम्बोधनका लागि २० खर्ब अमेरिकी डलर बढिको प्याकेज ल्याउने तयारी भइ रहेको बताएका ट्रम्पले सोमबार अचानक ‘सोलियर डिष्टेन्स’ नीति धेरै लामो नलैजाने उद्घोष गरेका छन् । अमेरिकी सर्जन जनरल जेरोमी एमम्सले यो साता भाइरसका कारण अझ धेरै खराव हुने बताएका केही घण्टामै ट्रम्पले फेरि उक्त नीति घटाउने घोषणा गरेका हुन् । अमेरिकी बिजनेशलाई नयाँ जीवन दिन र निरोगी युवा पुस्तालाई काममा फर्काउन त्यसो गर्न लागेको उनको दावी छ । कोरोना भाइरसले मृत्यु हुने दर सडक दुर्घटनाका कारणभन्दा पनि कम रहेको उनको दावी छ । ट्रम्पको यो भनाइले जनस्वास्थ्य विज्ञहरुलाई थप चुनौतीमा धकेलिदिएको छ ।

सबैभन्दा धेरै प्रभावित देखिएको न्यूयोर्कमा अहिलेसम्म संक्रमितको संख्या २० हजार नाघि सकेको छ भने १५० बढिले ज्यान गुमाइ सकेका छन् । राज्यका गभर्नर एन्ड्रु कुम्मोले स्वास्थ्य उपकरणको खाँचोप्रति पटक पटक केन्द्र सरकारको ध्यानाकर्षण गराए पनि चाहिए जति पाउन नसकेको गुनासो गर्दै आएका छन् । उनी सहित धेरै डेमोक्रेटिक नेताहरुले ‘डिफेन्स प्रोडक्सन एक्ट’ सकृय गराएर अमेरिकी कम्पनीहरुलाई अत्यावश्यक स्वास्थ्य उपकरण उत्पादनका लागि आदेश दिन माग गरि रहेका छन् । तर, आफैंलाई युद्दकालको राष्ट्रपति घोषणा गरेका ट्रम्पले उक्त प्रस्ताव मानेका छैनन् । त्यसरी कम्पनीहरुलाई आदेश दिनुलाई राष्ट्रियकरणसँग तुलना गर्दै आफु पुँजीबादी अर्थतन्त्रको समर्थक रहेको तर्क गर्दै आएका छन् । उनको यो तर्क जारी रहँदा न्यूयोर्क मात्र होइन क्यालिफोर्निया, वासिंटन, मिसिगन लगायत धेरै संक्रमित रहेका स्वास्थ्यकर्मीले उपकरण अभाव भएको दोहोर्याइ रहेका छन् । उक्त कानून कार्यान्वयन भएमा कुनै अमेरिकी राष्ट्रियकरण हुने होइन । सरकारले अत्यावश्यक वस्तु निश्चित संख्या तोकेरै कम्पनीलाई उत्पादन गर्न लगाउने हो र आकर्षक मूल्यमा त्यसलाई खरिद गर्ने हो ।

अमेरिकी सरकारको यो अस्थिरताबीच एक बृद्ध डाक्टर सम्हाल्न दौडधुप गरि रहेका छन् । नेशनल इष्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सन डिजिज (एनआईएआईडी) का निर्देशक एन्थोनी फाउसी ट्रम्पको अस्थिर मानसिकतालाई स्थिरतामा ल्याएर जनस्वास्थ्य संकट सम्बोधनका लागि लगातार संघर्षरत छन् । ७९ बर्षका यी बृद्ध डाक्टर एचआईभी एड्सको पत्ता लागेको समय देखि नै लगातार सरुवा रोगसम्बन्धि अनुसन्धान र नीति तर्जुमामा सकृय छन् । छ जना राष्ट्रपतिसँग काम गरेका उनले यसपाली जति अफ्ठ्यारो नेतृत्व कहिल्यै झेल्नु परेकाे थिएन होला ।

फाउसीलाई सन् १८८४ मा राष्ट्रपति रोनाल्ड रेगनले एनआईएआईडी निर्देशक नियुक्त गरेका थिए । त्यसबेला अमेरिकामा लगायत विश्वमै तीब्र रुपले फैलि रहेको एचआईभी एड्स अनुसन्धान र रोकथामका लागि केन्द्र स्थापना गरि उनलाई नियुक्त गरिएको थियो । त्यसयता उनले समय समय जनस्वास्थ्यलाई चुनौती बनेका टिबी, मलेरिया, डाइरियल डिजिज, एबोला देखि जिका भाइरससम्मको अनुसन्धान र रोकथामका लागि काम गरे । अहिले कोरोना भाइरससँग संघर्ष गरि रहेका छन् । कोरोनाको चुनौती र प्रभावप्रति उनले पटक पटक सजग गराए पनि ट्रम्पले बेलामा सुनेका थिएनन् । सबैभन्दा पहिला उनले जाँचलाई जोड दिएका थिए । त्यसबेला ट्रम्प सबैले परिक्षण गर्नु नपर्ने भन्दै थिए । त्यसपछि उनले घरमै बस्ने र भिडभाड कम गर्नु पर्ने सुझाए । उनलाई चुनौती दिँदै कैयन् रिपब्लिकन नेताहरुले रेष्टुरेन्टमा गएर खान र बारमा रमाइलो गर्न अमेरिकी जनतालाई आह्वान गरेका थिए । अन्ततः डा. फाउसीका सुझाव मान्न ट्रम्प बाध्य भए । चाहनेलाई परिक्षण गर्न मात्र होइन ‘सोलियर डिष्टेन्स’ नीति मार्फत भिडभाड नियन्त्रणको निर्देशन दिनेसम्मको अवस्थामा ट्रम्प पुगे । त्यति हुँदा पनि भाइरस सम्बन्धि ह्वाइट हाउस ब्रिफिङमा दिनहुँ डाक्टरहरुलाई चुनौती दिने गरि ट्रम्पले अप्रमाणित औषधी सुझाउँदा फाउसी हेरिरहन बाध्य हुन्छन् । सोमबार साइन्स म्योगेजिनसँगको अन्तर्वार्तामा उनले भनेका छन्– ‘साँचो बोल्न सुझाव दिने हो तर पोडियमा गएर ट्रम्पको माइक्रोफोननै खोस्न भने हामी सक्दैनौँ ।’

(तश्विर- ह्वाइट हाउस ब्रिफिङमा डाक्टर फाउसी, न्यूयोर्क पोष्टबाट)