स्वास्थ्य

स्पेन-इटलीमा कोरोना संक्रमण नियन्त्रणबाहिर, जापान-कोरियामा नियन्त्रण

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट चीन माथि उठिसकेको छ । तर, पछिल्लो सयम यस भाइरसले यूरोपलाई इपिसेन्टर बनाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार यूरोपका दुई मुलुक स्पेन र इटलीमा अहिले पनि परिस्थिति नियन्त्रण भन्दा बाहिर छ । यस्तै अवस्था अमेरिकामा समेत देखिएको छ ।

तर, जापान र दक्षिण कोरियाले भने धेरै हदसम्म यो रोगको संक्रमण रोक्न सफल भएका छन् । यी दुई मुलुकमा संक्रमित देखिएपनि फैलावट नियन्त्रण मै रहेको छ ।

संगठनका अनुसार मंगलबार साँझसम्म विश्वभर ४ लाख २२ हजार ६ सय १४ मानिस कोरोनाबाट संक्रमित छन् । कोरोना भाइरस देखापरेको झण्डै ४ महिना भित्र यो रोगले विश्वका १९७ मुलुक प्रभावित बनाएको छ ।

कोरोनाको उद्गमस्थल चीनमा सबैभन्दा धेरै कोरोना संक्रमित छन् । हालसम्म यहाँका ८१ हजार २ सय १८ मानिसमा कोरोनाको लक्षण देखिएको छ ।

पछिल्लो २४ घण्टामा चीनमा मात्र ४ कोरोना संक्रमितको ज्यान गएको छ । यस दिन यहाँ ४७ जना मात्र नयाँ बिरामी भेटिएका छन् ।

इटलीमा ५ हजार २ सय ४९ मानिसको ज्यान गइसकेको छ । मंगलबार एकै दिन ७४३ को ज्यान गयो ।

यस दिन ५ हजार २ सय ४९ नयाँ बिरामी थपिए । इटलीमा ६९ हजार १ सय ७६ जनामा कोरोनाको संक्रमण भेटिएको छ । अझै ३ हजार ३ सय ९३ को अवस्था गम्भीर छ ।

अमेरिकाको कोरोना संक्रमण तिब्र गतिमा फैलिएको छ । मंगलबार मात्र अमेरिकामा ११ हजार ७४ नयाँ बिरामी फेला परे । अमेरिकाको कुल संक्रमितको संख्या ५४ हजार ८ सय ८ पुगेको छ । यो निकै डरलाग्दो अवस्था हो ।

यहाँ ७ सय ७५ जनाको ज्यान गइसकेको छ । स्पेनमा मंगलबार एकैदिन ६ सय ८० मानिसको ज्यान गयो ।

अब स्पेनमा मर्नेको संख्या २ हजार ९ सय ९१ पुगेको छ । मंगलबार स्पेनमा ६ हजार ९ सय २२ नयाँ बिरामी भेटिए । स्पेनमा कूल ४२ हजार ५९ संक्रमित छन् ।