स्वास्थ्य

खुसीको खबर : पछिल्लो ४८ घण्टामा नेपालमा भेटिएनन् कोरोना संक्रमित

काठमाडौं । पछिल्लो ४८ घण्टा यता नेपालमा कोरोनाको संक्रमित फेला परेका छैनन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ जनामा सिमित छ । त्यसमध्ये पनि एक जना भने निको भएर घर फर्किसकेका छन् ।

अन्यको समेत स्वास्थ् अवस्था सामन्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घन्टामा नयाँ संक्रमित नथपिएको जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घन्टामा ६७ जनामा कोरोना परीक्षण भएको छ । मंगलबार सवा ४ बजेसम्म नेपालमा १ हजार ६० जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ।

जसमध्ये पाँच जनामा मात्र कोरोना संक्रमण पुष्टी भएको हो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई जना उपचारत रहेका छन् ।

उक्त अस्पतालमा फ्रान्सबाट गत चैत ४ गते आएकी काठमाडौंकी १९ वर्षीया युवती र गत चैत ६ गते युएईबाट नेपाल आएका एक युवक रहेका छन् ।

उनीहरु दुवै जनाको अहिले अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

यसैगरी कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार गराइरहेका दुवईबाट चैत ६ गते आएका ३४ वर्षीय संक्रमित युवाको अवस्था पनि सामान्य रहेको छ ।

चैत ४ गते बेल्जियमबाट नेपाल आएकी बागलुङकी १९ वर्षीया युवतीको पनि स्वास्थ्य अवस्था सामान्य रहेको धौलागिरी अस्पतालले उल्लेख गरेको छ ।