फिचर

अब आँफैले आँफैलाई ‘लकडाउन’ गरौं

कल्पना घिमिरे
महिना दिन भयो । दिमाग पुरै कोरोनाले कब्जा गरेको छ । खाना खाँदा, सुत्दा, उठ्दा, साथीभाइसंग फोनमा कुराकानी गर्दा, टीभी हेर्दा जे सुकै गर्दा होस अन्य विषयले मेरो मन मष्तिस्कलाई आकर्षित गर्न सकेन । मोवाइल समात्यो संक्रमित र मृत्यु हुनेको तथ्याङ्क हेर्यो, दिन दुगुना रात चौगुना बढेको बढ्यै छ । छटपटि त्यो भन्दा बढी रफ्तारमा । यो आलेख लेख्दै गर्दासम्म अमेरिकामा ३ हजार ४ सय ८४ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाइसकेका छन् भने १ लाख ७८ हजार १ सय २७ व्यक्ति संक्रमणका कारण मृत्युसंग लडिरहेका छन् ।
यतिबेला न्यूयोर्कको ज्याक्सन हाइटस्थित एल्मष्र्ट अस्पताल कोरोनाका बिरामीले भरिएको छ । ज्याक्सन हाइट वरपर बस्ने मैले नजिकबाट चिनेजानेका केही परिवार ज्वरो आएर थलिएका छन् । एक साता अघि ५० वर्षीय अनिल लिम्बुले ज्यान गुमाउनु परेको पीडाले लिम्बुका परिवार मात्र होइन सिङ्गो नेपाली समुदाय शोकमा छ । मृत्युपछि श्रीमतीले मुख सम्म हेर्न नपाएको र दाहसंस्कारमा समेत जान नपाएको पहिलो पटक सुनेँ । श्रीमान बियोगको पीडामा कोठामा छट्पटाइरहेकी श्रीमतीलाई भेटेर कसैलेपनि सहानुभुती दिन सकेन । श्रीमानको अन्त्येष्टिमा उपस्थित हुन नसकेर शब जलाउनका लागि १२ सय डलर तिरेर ग्रिनउड सिमेट्रीलाई जिम्मा लगाउनुुपर्दा ती परिवारका सदस्यको मनमा के गुज्रियो होला । श्रीमानको शबको दाहसंस्कार यतिबेला भयोहोला भन्ने अनुमान गर्दै कोठाभित्र दिन काट्न बाध्य ती परिवारको पीडालाई शब्दले कसरी ब्यक्त गरुँ ।
बिश्वमा आफुलाई शक्तिशाली राष्ट्रको उपल्लो दर्जामा राख्दै आएको अमेरिकामा यतिसम्म भयावह स्थिति नआउनु पथ्र्यो । गत डिसेम्बर महिनामा चीनमा कोरोना भाइरस फैलिरहेको खबर सुन्दा हाम्रा शर्बशक्तिशाली राष्ट्रपति डोनाल्ड ट्रम्पले सामान्य लिएकै कारण अहिले हामी सबैले यो दुर्गती भोग्नु परिरहेको छ । चीनमा फैलदै गर्दा अमेरिकाले गम्भीर भएर तयारी सुरु गर्नुपथ्र्यो । तयारीका लागि समय पनि प्रसस्त थियो । तर, त्यसो भएन । अमेरिकामा फैलिएको दुई साता सम्म पनि राष्ट्रपति ट्रम्पले पत्याएकै थिएनन् । २/४ दिन भित्रै ठिक भइहाल्छ, अमेरिकालाई छुनै सक्दैन भन्ने अभिव्यक्ति दिँदै जनतामाझ झुटो आश्वासन छरिरहे । बरु, अरुलाई गाली गर्दै समय बिताए, महिना दिन बितिसक्दा पनि राष्ट्रपति ट्रम्पले यसलाई नियन्त्रण गर्नेबारे मिसन भिजन देखाउन सकेनन् ।
भाइरसको संक्रमण फैलन नदिनका लागि सबैले अमेरिकालाई ‘लकडाउन’ गर्नुपर्छ भन्ने सल्लाह पनि दिएका थिए । तर, अमेरिकामा ‘लकडाउन’ गर्ने कुनै कानुन नभएका कारण ‘लकडाउन’ हुन नसक्ने न्यूयोर्कका गभर्नर एन्ड्रयु क्युमोले बताउँदै आएका छन् ।
ह्वाइट हाउस कोरोना भाइरस टाक्सफेर्सका चिकित्सक र बिज्ञहरुले स्थिति गम्भीर बन्दै गएको र यो महामारीले अमेरिकामा २ लाख ब्यक्तिको मृत्यु हुन सक्ने अनुमान गरेपछि राष्ट्रपति ट्रम्पले हिजो पत्रकार सम्मेलन गरी अमेरिकामा २ लाख मान्छेको मृत्यु भएर भाइरस नियन्त्रण भएमा हाम्रो सफलता मान्नु पर्छ भन्ने मुख्र्याइ अभिब्यक्ति दिएका थिए । मृत्युलाई नै सामान्य मानिरहेका राष्ट्रपतिले २ लाख सम्मको मृत्यु भएपनि खासै असर नपर्ने आशय ब्यक्त गरिरहँदा हामी सुनिरहन मात्र सक्छौं ।
सुरुवाती चरणमा महिनादिन सम्म अरुलाई गाली गर्दै भाइरसलाई बेवास्ता गरेको परिणाम हो यो । राष्ट्रपति ट्रम्पको यो हेलचेक्र्याईले अमेरिकामा अझै कतिले ज्यान गुमाउनु पर्ने थाहा छैन ।
अमेरिकामा करिब ३५ करोड जनसंख्या मध्ये सोमबारसम्म १० लाख ब्यक्तिलाई मात्रै कोभिड–१९ जाँच गरिएको थियो । त्यसमध्ये १ लाख ७८ हजारमा कोभिड–१९ पोजेटिभ देखिएको छ । यो संक्रमणको क्रम बढिरहेको छ । यस्तो अवस्थामा अब अमेरिकी सरकारले केही गर्न नसकेको अवस्थामा तपाई हामीले आँफैले आँफैले लकडाउन गर्नु जरुरी छ । यतिबेला अन्य कुनै रोग लागेर बिरामी परेमा अस्पताल जान सक्ने अवस्था छैन । कोभिड–१९ पोजिटिभ देखिएर पनि स्वास्थ्य अवस्था सामान्य भएमा घरमै बस्नु, श्वास फेर्न गाह्रो भएमा मात्रै अस्पताल आउनु भनेर अस्पतालबाट फर्काइरहेको दयनीय अवस्था हामीले भोगिरहेका छौं । यस्तो अवस्थामा ज्यान जोगाउनु नै महत्वपूर्ण र सही हुन्छ ।
परिवार, समाज, र अमेरिका मात्र होइन बिश्वनै त्राही त्राही छ । मृत्युदेखि सबैले डराउनै पर्छ । तर, यस्तो अवस्थामा बहादुरी देखाउने जमातको पनि कमी छैन । सरकारले घर भित्रै बस्न निर्देशन गरेपनि खुलेआम मान्छेहरु सडकमा हिडिरहेका छन् ।
न्यूयोर्कका गभर्नर क्युमोले अप्रिल महिनाको १२ तारिक सम्म घर भित्रै बस्न र सोसियल डिस्टेन्स कायम राख्न निर्देशन दिएका थिए । पछिल्लोे समय अवस्था बिग्रदै गएपछि अप्रिल महिनाभर घर भित्रै बस्न निर्देशन दिएका छन् । घर बाहिर निस्कनेलाई कुनै किसिमको कारवाही नभएका कारण कतिपयले यसलाई हेलचेक्र्याई गरिरहेका छन्, जथाभावी हिडिरहेका छन्, संक्रमण फैलाइरहेका छन् ।
आफुलाई नपरुञ्जेल सानो लाग्छ । परेपछि यसको कुनै उपचार छैन । तपाई संक्रमित हुनुभयो भने तपाईकै परिवारका सदस्यले समेत तपाईलाई हेरचाह र सहयोग गर्न सक्दैनन् । त्यसैले हेलचेक्र्याइ पटक्कै नगरौं ।
यतिबेला चर्चित हाँस्य कलाकार मनोज गजुरेलले बारम्बार भन्ने गरेको एउटा भनाइ मानसपटलमा घुमिरहेको छ ‘केही नहुञ्जेलसम्म केही पनि हुँदैन’ । फेरी सम्झन्छु, बिश्व नै ठप्प बनाउन सक्ने कोरोनाको अगाडि यो भनाइको पनि के लाग्ला !
संसारका सबै भन्दा शक्तिशाली राष्ट्र अमेरिका, चीन, रुस, जापान, इटाली जस्ले विश्व नै ध्वस्त पार्न सक्ने आणविक बम, मिसाइलको आविस्कार गरे तीनीहरु समेत अहिले यो आँखाले देख्न नसक्ने शुक्ष्म जीवाणुदेखि डराइरहेका छन् । यसको औषधि नबनुञ्जेल सम्म तपाई हामीले आफैले सकेको सावधानी अपनाउनु बाहेक अरु उपाय छैन ।
घर भित्रै बसौं, समय समयमा साबुन पानीले हात धोऔं, घरमा जे उपलब्ध हुन्छ त्यही खाऔं, पुस्तक पढौं, फिल्म हेरौं, सरसफाइका काम गरौं, बालबालिकालाई पढाऔं, बालबालिकालाई घरको काम, खाना पकाउन सिकाऔं, भान्छाको काममा सबैले सहयोग गरौं । आफन्त इष्ट मित्रसंग भेटघाट नगरौं, आफ्नो घरमा पनि कसैलाई आउन नदिऔं, प्रसस्त पानी पिऔं, भिटामिन सी भएको खानेकुरा खाऔं, योग गरौं, एक्सरसाइज गरौं, मनोबल उच्च बनाऔं, घर बाहिर निस्कदै ननिस्कऔं । सरकारले नगरेर के भो त २ साता आँफैले आँफैलाई लकडाउन गरौं । केही नहुञ्जेलसम्म केही पनि हुँदैन ।