समाचार

विश्वकप क्रिकेटमा भारतको लगातार दोस्रो जीत, अष्ट्रेलिया पराजित

काठमाडौं । इंल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जीत हात पारेको छ । आइतबार राती लन्डनस्थित केनिङटन ओभलमा भएको खेलमा भारतले अष्ट्रेलियालाई ३६ रनले हराएको हो ।

३५३ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ३१६ रन मात्र बनाउन सक्यो ।
अष्ट्रेलियाका लागि स्टेभन स्मिथले ६९, डेभिड वार्नरले ५६, एलेक्स करेयले ५५ रन बनाए । उस्मान खवाजा ४२, कप्तान एरोन फिन्च ३६ र ग्लेन म्याक्श्वेलले २८ रन बनाएपनि टोलीलाई जिताउन भने सकेनन् ।

भारतका भुवनेश्वर कुमार र जसप्रित बुमराहले समान ३–३ विकेट लिए । युजभिन्द्र चहेलका नाममा दुई विकेट रह्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षतिमा ३५२ रन बनाएपछि अष्ट्रेलिया दवावमा आएको थियो ।

भारतका लागि शिखर धवनले शतक बनाए । उनले १०८ बलमा १६ चौका प्रहार गर्दै ११७ रनको पारी खेले । कप्तान विराट कोहलीले ८२ रनको महत्वपूर्ण पारी खेले ।

ओपनर रोहित शर्माले ५७ रन बनाउँदा हार्दिक पाण्ड्याले ४८ र महेन्द्रसिंह धोनीले २७ रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका मार्कुस स्टोइनिसले दुई विकेट लिए ।