स्वास्थ्य

कोरोना भाइरस संक्रमणबाट हुने कोभिड -१९ को उपचारमा यस्ता औषधि आउँदै छन्

न्युयोर्क

कोरोना भाइरस संक्रमित तथा भाईरस संक्रमणको कारण हुने कोभिड -१९ को बिरामीको उपचार गर्ने निश्चित औषधि नबनेको कारण अहिले विश्व समुदाय आतंकित छ । झन्डै ५० हजार मानिसको ज्यान लिइसकेको भाइरस संक्रमणको जोखिममा लाखौं मानिस छन् । विश्वका शक्तिशाली मानिएका थुप्रै राष्ट्रहरु भाइरसका सामु निरिह देखिएका छन् । यद्यपी विश्वभर दर्जनौ औषधिहरुको परिक्षण उपचार भने सुरु गरिएको छ । कोरोना संक्रमणको उपचार बिधिमा प्रयोग गरिएका  कतिपय औषधिहरु भने निकै अगाडि बढी सकेका छन् । विश्वभरका बिभिन्न राष्ट्रहरुमा अहिले ७५ प्रकारका परिक्षण उपचार चलिरहेका छन् । ती परिक्षण उपचारहरु  मध्ये ७ प्रकारका औषधि र प्रयोग  कोरोना संक्रमितको सम्भावित सफल उपचारमा विश्वभर केन्द्र बिन्दुमा देखिएका छन् ।  

रेमिडिसिभर (Remdesivir ) : 

गिलिड नामक बायोफर्मा क्युटिकल कम्पनीको रेमिडिसिभर नामक यो औषधि प्रयोग गरेर कोभिड -१९ को परिक्षण उपचार सुरु गरिएको छ । यो औषधी सन् २०१४ देखि २०१६ सम्म अफ्रिकामा फैलिएको प्राणघातक ईबोलाका बिरामीको उपचारमा प्रयोग गरिएको एन्टी भाइरल हो । हालसम्म कोरोना संक्रमितको उपचारमा प्रयोग गरिएका दर्जनौ प्रयोग मध्ये रेमिडिसिभरको प्रयोग अग्रस्थानमा देखिएको छ । गिलिडको यो प्रयोग हाल परिक्षणको तेश्रो चरणमा रहेको मिल्केन ईन्स्टिचुटले जनाएको छ ।  रेमिडिसिभर प्रयोगको परिक्षण उपचारको  निष्कर्ष भने अप्रिल अन्तिमसम्म आउने अपेक्षा गरिएको छ । यो औषधिको क्लिनिकल ट्रायल भने चीन तथा अमेरिकाको युभर्सिटी अफ नेब्रास्कामा भै रहेको छ । यदी रेमिडिसिभरको परिक्षण सकारात्मक रुपमा अगाडि आएमा कोभिड -१९ संक्रमणको उच्च जोखिममा रहेका बिरामी बचाउनका लागि उनिहरुको नसाबाट औषधि दिइने छ ।  

क्लोरोकुईन तथा हाईड्रोक्सीक्लोरोकुईन  (Chloroquine and Hydroxychloroquine ) :

क्लोरिकुईन तथा हाईड्रोक्सक्लोरोकुईन हाल मलेरियाका बिरामीको उपचारमा प्रयोग गरिने औषधि हुन् । अमेरिकास्थित एफडिएले यी दुई औषधिलाई यसै हप्तादेखि अस्थाईरुपमा कोभिड-१९ को उपचारको लागि परिक्षणको रुपमा प्रयोग गर्न अनुमती समेत दिएको छ ।  गत मार्च ३० को दिन क्लोरिकुईन फोस्पेट तथा हाईड्रोक्सक्लोरोकुईन सल्फेटलाई कोरोना संक्रमणका कारण अस्पतालमा उपचार गराई रहेका युवा तथा बृद्धबृद्धाको उपचारको लागि प्रयोग गर्ने अनुमती एफडिएले दिए पनि यी दुई औषधि आँफै वा अन्य औषधिसँग मिसाएर प्रयोग गर्ने दर्जनौ क्लिनिकल ट्रायलहरु भने परिक्षण कै क्रममा छन् ।  मलेरियाको उपचार गर्ने यी दुई औषधि अहिले मानव शरिरमा प्रयोग गरेर अनुसन्धान गरिरहेको अवस्थामा छ ।  

केभजारा ( Kevzara ) :

गाऊटस् (Arthritis) रोगको उपचारको लागि प्रयोग गरिने केभजारा नामक यो औषधि पनि कोभिड -१९ का सिकिस्त बिरामीमा परिक्षण गर्न सुरु गरिएको छ । हालसम्म यो औषधि दुईवटा फरक फरक चरणमा परिक्षण गरी सकिएको छ । यो औषधिले कोभिड – १९ का बिरामीको फोक्सो समेत सुन्निएर मृत्‍यु हुने खतराको अवस्थामा त्यस्ता बिरामीको सुन्निएको फोक्सोलाई नर्मल गराउन मद्दत गर्दछ र कोरोनाका बिरामीलाई मृत्‍युको मुखबाट बचाँउछ भन्ने अनुसन्धानकर्ताहरुको अनुमान छ । गाऊट्स रोगको यो औषधि हाल सानोफी (Sanofi) र रिजेनेरोन (Regeneron) ले बिक्री बितरण गर्दै आएका छन् ।  

एक्टेमरा (Actemra) :

एक्टेमरा पनि साधारण अवस्थामा गाऊट्सका बिरामीको उपचारमा प्रयोग गरिने औषधी हो । एक्टेमरालाई पनि कोरोना संक्रमित बिरामीलाई प्रयोग गरेर अनुसन्धान गरिएको चरणमा छ । यो औषधिलाई चीनस्थित स्वास्थ्य अधिकारीहरुले कोभिड -१९ को उपचारमा प्रयोग गर्न सिफारिस गरेका हुन् । एक्टेमरा पनि केभजारा जस्तै गाउट्सको औषधि भएपनि चीनस्थित स्वास्थ्य अधिकारीहरुले एक्टेमरालाई भने कोभिड -१९ का कारण निमोनिया भएका बिरामीमा प्रयोग गर्न सिफारिस गरेका हुन् । हाल मानव शरिरमा परिक्षणको चरणमा रहेको एक्टेमरा स्विस मल्टीनेसनल हेल्थ केयर कम्पनीले बिक्री बितरण गर्दै आएको छ ।  

कलेट्रा (Kaletra) :

कलेट्रा सन् २००० मा एफडिएद्वारा एड्सका बिरामीको उपचारका लागि मान्यता पाएको एड्सको औषधि हो । अन्य दुईवटा एन्टीभाईरल औषधि लोपिनाभिर र रिटोनाभिरको संयोजन गरिएर कलेट्रा  बनाईएको हो । कलेट्रा प्रयोग गरेर कोभिड -१९ को उपचार गर्ने बिधि पनि हालसम्म मानव परिक्षण कै चरणमा छ । तर पूर्ण मान्यता प्राप्त गरेको भने छैन ।  

फाभिलाभिर (Favilavir ) :

यो औषधिलाई नेसनल मेडिकल प्रोडक्ट्स एड्मिनिस्ट्रेसन अफ चाईनाले कोरोनाको एन्टी भाईरल औषधिको रुपमा प्रयोग गर्न स्वीकृति दिएको हो । फाभिलाभिर हाल ईन्फ्लुएन्जाको उपचारमा प्रयोग गरिने गरिन्छ भने जापानमा एभिगनको नामबाट यस्को प्रयोग इन्फ्लुएन्जा बिरामीको उपचारमा प्रयोग गरिन्छ । चीनको सेन्जेन गुङडोन प्रोभेन्सका ७० जना कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग गरिएको यो औषधिको न्युन साईड ईफेक्ट्स भएको समेत बताईएको छ ।

रिजेनेरोन एन्टीबडी ( Regeneron antibody): 

जब मानिसको शरिरको प्रतिरक्षा प्रणालीले भाईरसलाई जित्छ तब शरिरमा प्रोटिन निर्माण हुन्छ । भाईरससँगको लडाईंपछि निर्माण हुने प्रोटिनलाई एन्टीबडी भनिन्छ । हाल विश्वभरका दर्जनौ कम्पनीहरु कोभिड -१९ रोग लगाउने कोरोना भाईरसलाई निस्कृय गराउने त्यस्ता एन्टीबडीहरुको पहिचान गरी तिनै एन्टिबडीको प्रयोगबाट औषधि बनाउने अभियानमा जुटेका छन् । बिल्कुल यही पद्धती मार्फत बिज्ञानलाई प्राणघातक ईबोलाको औषधि बनाउने सफलता मिलेको थियो । ईबोलाको औषधि बनाउने सफलता  हासिल गरेको रिजेनेरोनले अहिले पनि कोरोनासँग जित हासिल गरेको थुप्रै एन्टिबडीहरु पहिचान गर्न सफल भएको जनाएको छ । निकट भविष्यमा दुईवटा एन्टिबडीको मिश्रणगरी ककटेल ट्रिट्मेन्टको प्रयोग गरिने समेत रिजेनेरोनले जनाएको छ ।यही अप्रिलदेखि एन्टिबडी निर्माण गरी आगामी गर्मीयामको सुरुदेखि क्लिनिकल ट्रायलमा जाने समेत रिजेनेरोनले जनाएको छ ।  

(बरोन्स अनलाइन पत्रिकाको सहयोगमा बिजयराम पौडेलले तयार पारेको रिपोर्ट)