स्वास्थ्य

रक्षा र स्वास्थ्य मन्त्रीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । कोरोनासँग लड्ने स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै रक्षा मन्त्री इश्वर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

नोवेल कोरोना भाइरस (कोभिड १९) भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न आवश्यक मेडिकल सामग्री खरिद गर्ने सम्बन्धी सम्झौामा भ्रष्टाचार भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले विहीबार अख्तियारीमा उजुरी दिएका छन् ।

उपप्रधानमन्त्री तथा कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ र ठेक्का लिएका ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिका सञ्चालकलाई विपक्षी बनाउदै उजुरी परेको हो ।

ओम्नी समूहसँग सामान खरिदका लागि भएको सम्झौता बुधबार सरकारले खारेज गरेको छ ।

ओम्नीसँग सरकारले एक अर्ब भन्दा बढी मूल्यका सामान ल्याउने सम्झौता गरेको थियो ।

१० प्रतिशत सामान आइसकेपछि सम्झौता खारेज गरेर सरकारले जीटुजीमार्फत सामान खरिद गर्ने तयारी थालेको छ ।

गत आइतबार सामान काठमाडौं आएपछि विवाद बाहिरिएको थियो । सरकारले बुधबार विवादित खरीद सम्झौता खारेज गर्ने निर्णय गरेको थियो ।